बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

संसदीय राजनीतिका खेलाडी गच्छदारलाई पाँच हजार बढी मतले पराजित गर्ने को हुन् भगवती चौधरी ?

बुधबार, मंसिर १४ २०७९

काठमाडौं । सुनसरी क्षेत्र नम्बर ३ मा नेकपा (एमाले) का उम्मेदवार भगवती चौधरी विजयी भएकी छिन् ।

अन्तिम मतपरिणाम अनुसार चौधरीले ४० हजार सात सय ८८ मत ल्याएर विजयी भएकी हुन् । 

उनले नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई पाँच हजार एक सय ८८ मतान्तरले पराजित गरिन् । कांग्रेसका गच्छदारले ३५ हजार छ सय मत पाएका छन् ।

यसअघि भगवती चौधरी २०७० सालको संविधानसभा निर्वाचनमा विजयकुमार गच्छदारसँग पराजित भएकी थिइन् ।

त्यसेबला ३६२ मतको अन्तरले उनी गच्छदारसँग पराजित भएकी थिइन् । पराजित भएपछि उनले गच्छदारले राज्य संयन्त्रको प्रयोग गर्दै आफ्ना प्रतिनिधिलाई मतगणनास्थलबाट बाहिर निकालेर एकलौटी मत गनेर आफू विजयी भएको घोषणा गरेको आरोप लगाएकी थिइन् ।

निर्वाचन परिणामपछि सर्वोच्च अदालतमा पुनः मतगणनाको माग राख्दै मुद्दा दर्ता गरे पनि अदालतले प्रतिनिधिसभाको पाँच वर्षे कार्यकाल सकिँदासम्म पनि मुद्दाको किनारा लगाएन ।

०४८ देखि २०७४ सम्म भएका सबै छवटा आमचुनावमा सुनसरीबाट गच्छदारले नै जित्दै आएका थिए । ६ वटा चुनावमध्ये २०४८, २०५१, २०५६ र २०७४ गरी चारवटा चुनाव कांग्रेसबाट जितेका थिए । २०६४ को पहिलो संविधानसभामा मधेसी जनअधिकार फोरमबाट निर्वाचित भएका गच्छदार २०७० को दोस्रो संविधानसभामा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) बाट विजयी भएका थिए ।

गच्छदार यति बेला ललिता निवास जग्गा घोटाला प्रकरणमा मुछिएका छन् । उनलाई तत्कालीन केपी ओली नेतृत्वको सरकारले २०७६ साल माघमा ९ करोड ६८ लाख बिगोसहित भ्रष्टाचार मुद्दा लगाएको छ । 

नेकपा एमालेकी केन्द्रीय सदस्यसमेत भइसकेकी भगवती चौधरी पूर्व वनराज्यमन्त्री समेत हुन् । सवारी दुर्घटनामा ८ वर्ष पहिले श्रीमान् दिनेश चौधरीको मृत्यु भएपछि उनी अहिले एकल महिलाको रुपमा छिन् । भगवतीका हजुरबुवा कुमहरलाल चौधरी वडाध्यक्ष थिए । बुवा डेमोक्र्याटिकका समर्थक भएकाले भगवतीलाई समाजसेवा र राजनीतिमा प्रवेश गर्न सहज भयो । उनी आफ्नो टोलमा क्याम्पस जाने पहिलो महिला समेत हुन् ।

महेन्द्र मोरङ क्याम्पसमा ०४६ सालको जनआन्दोलनमा भाग लिएकी उनले ०४८ सालमा पार्टीको सदस्यता लिएकी थिइन् ।

सुनसरीमा फरवार्ड नामक लघुवित्त संस्था स्थापना गरेर सयौं महिलालाई रोजगारी दिएकी भगवतीले गच्छदारले सरकारमा बसेर २० वर्षमा गर्न नसकेको काम ५ वर्षमा गरेर देखाउने बताउँदै आएकी छन् ।