काठमाडौं । १ सय मत बदर गर्ने सहमति पछि उदयपुर निर्वाचन क्षेत्र नम्बर १ मा रोकिएको मतगणना सुरु भएको छ ।
प्रदेश सभा १ को मत प्रतिनिधि सभामा मिसिएको भेटिएपछि विवाद भएको थियो । प्रदेश सभा २ तर्फका १ सय वटा मतपत्र दोहोरो परेकाले ती मतपत्रहरु बदर गर्ने निर्णय भएको हो ।
बदर भएका मतपत्रहरू उदयपुर १ (ख) अन्तर्गतका हुन् । मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले प्रदेश सभा ख तर्फका १०० वटा मतपत्र दोहोरो परेकाले ती मतपत्रहरु बदर गर्ने निर्णय भएको जानकारी दिए ।
उनका अनुसार १० मंसिरमा मतगणनाको क्रममा खोलिएका जनता मावि, श्रीपुर (क), जनता मावि, देउरी (क), जनता मावि, देउरी (ख), जनता मावि, देउरी (ग), अम्वेवर मावि, राजावास (क), बालमन्दिर मावि, बोक्से (ख), मावि चिलाउने (ख)समेत १० वटा मतदान केन्द्रहरुको मतपेटिका खोली मिसाइएका मतपत्रहरु बदर गरेको हो ।
निर्वाचन आयोगले ५ मंसिरमा गरेको निर्णयमा पनि जुन प्रणाली वा सभाको मतपत्र दोहोरो परेको हो, त्यस्तो मतपत्र बदर गर्ने भन्ने व्यवस्थाबमोजिम आफूले बदर हुने निर्णय लिएको सुवेदीले बताए ।
उदयपुर १ मा नेपाली कांग्रेसका उम्मेदवार डा. नारायण खड्का र नेकपा एमालेकी मञ्जु कुमारी चौधरीबीच प्रतिस्पर्धा भइरहेको छ । अहिलेसम्म कांग्रेसका खड्काले अग्रता बनाइरहेका छन् ।