आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

हरुवाहरु नै मन्त्रीको कुर्सीमा विराजनमान

सोमबार, मंसिर १२ २०७९

काठमाडौं  । सरकारमा रहेका ६ मन्त्री प्रतिनिधिसभामा पराजित भएका छन् तर उनीहरुले मन्त्री पदबाट राजीनामा दिएका छैनन् ।

आफ्नै निर्वाचन क्षेत्रमा अस्वीकृत भएपछि नैतिकताका आधारमा राजीनामा दिनु हो तर, यी मन्त्रीहरु हालसम्म राजीनामा गर्ने छाँटकाँट देखाएका छैनन् ।

पराजित भएपछि राजीनामा दिनु आधारभूत नैतिकताको विषय भएपनि ‘कति बेला प्रधानमन्त्रीले राजीनामा दे भन्लान् र दिउँला’ भन्दै हरुवा मन्त्रीहरु बस्नु पक्कै पनि शोभनिय हाेइन ।

गृहमन्त्री बालकृष्ण खाँण, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल, पर्यटनमन्त्री जीवनराम श्रेष्ठ, खानेपानीमन्त्री उमाकान्त चौधरी, खेलकुदमन्त्री महेश्वरजंग गहतराज र मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले यो निर्वाचनमा पराजित भएपछि राजीनामा देलान् भन्ने सबैको अपेक्षा थियो । तर उनीहरुले राजीनामा नदिनुको कारण के हो भन्दै यतिबेला सामाजिक सञ्जाल भरिएको छ । 
 
बहालवाला गृहमन्त्री खाँण रूपन्देही–३ बाट राप्रपाका दीपक बोहरासँग पराजित भएका छन् । शनिबार सम्पन्न मतगणनामा बोहराले ३६ हजार ७ सय १७ मत ल्याउँदा कांग्रेस उम्मेदवार खाँणले ३४ हजार ३६ मत मात्रै पाए ।

यसैगरि खानेपानी तथा सरसफाइमन्त्री उमाकान्त चौधरी पनि बारा–१ बाट पराजित भए । उनी एमालेका अच्युतप्रसाद मैनालीसँग ९ हजार १ सय ३९ मतान्तरले पराजित भएका हुन् । मैनालीले ३९ हजार १ सय ९५ मत ल्याउँदा चौधरीले ३० हजार ५६ मत पाएका छन् । 

त्यस्तै, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री भुसाल ललितपुर–३ बाट पराजित भइन्, त्यो पनि फराकिलो अन्तरले । स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले ३१ हजार १ सय ३६ मत ल्याउँदा एमालेका अमृत खड्काले १२ हजार ९ सय ६३ र माओवादीकी भुसालले ८ हजार ७ सय ६९ मत पाएकी थिइन् ।

 यता, युवा तथा खेलकुदमन्त्री गहतराज बाँके–१ मा एमाले उम्मेदवार सूर्यप्रसाद ढकालसँग पराजित भए । २०७४ मा वाम गठबन्धनको साझा उम्मेदवार बनेर जितेका उनले यसपालि १९ हजार ६ सय ३२ मत पाए, एमालेका ढकाल भने २५ हजार २६ मत ल्याएर विजयी भए ।

जनताको मतबाट पराजित भएका मन्त्रीले राजीनामा नदिएर दुनियाँ हसाएका छन् ।

काठमाडौं–८ बाट उम्मेदवार बनेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ पनि पराजित हुँदै तेस्रो भए। राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठले १० हजार १ सय ५ मत ल्याएर जित्दा हाम्रो नेपाली पार्टीका सुमन सायमी ५ हजार ८ सय ८९ मत ल्याएर दोस्रो भए एकीकृत समाजवादीका उम्मेदवार श्रेष्ठले भने ४ हजार ८ सय ७७ मत पाउँदै पराजित बनेका हुन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठ चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग असाधारण मतान्तरले पराजित भए । लामिछानेले ४९ हजार २ सय ६४ मत ल्याउँदा श्रेष्ठले १४ हजार ९ सय ८३ मत ल्याए । तर, यी हरुवा चारमन्त्री हालसम्म पदमै विराजमान छन् ।