आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३

प्रधानमन्त्री बन्ने कसरतमा देउवा र ओली !

सोमबार, मंसिर १२ २०७९

काठमाडौँ – प्रतिनिधि सभा निर्वाचनको दोलखा, स्याङ्जा र बाजुरा बाहेकको करिव–करिव मत परिणाम आइसकेको छ । प्रत्यक्षमा नेपाली कांग्रेसले बढीमा ५८ सिट जित्न सक्ने मत परिणामले देखाएको छ । नेकपा (एमाले) ले ४१ सिटमा जित निकालिसकेको र दुई स्थानमा अग्रता लिएको छ । नेकपा (माओवादी केन्द्र) ले १७ सिट र नेकपा (एकीकृत समाजवादी) ले १० सिटमा जित हासिल गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीले ७ सिट, राप्रपाले ७ सिट, जनता समाजवादी पार्टीले पनि ७ सिटमा नै जित हासिल गरेका छन । लोकतान्त्रिक समाजवादी पार्टीले ४ सिट, नागरिक उन्मुक्ति पार्टीले ३ सिट, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी, राष्ट्रिय जनमोर्चा नेपालले एक÷ एक सिट र स्वतन्त्रले ५ सिट जित्ने मत परिणामको लगभग अन्तिम परिणामबाट देखिएको छ । 

०७९ मंसिर ४ गते भएको निर्वाचन परिणामले कुनै पनि दलको स्पष्ट बहुमत आएन । जनताको अभिमत दलहरूले मिलिजुली सरकार चलाउन भन्ने संकेत गरेका छन । वर्तमान सत्ता गठबन्धन दलहरूलाई पनि भावी सरकार बनाउने बहुमत सिट संख्या जुटाउन निकै मुस्किल पर्ने भएको छ । 

सत्ता गठबन्धन दलहरूलाई गठबन्धन भन्दा बाहिर जाँदा राप्रपा वा रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई नलिइ गठबन्धन दलले सरकार बनाउन नसक्ने परिस्थिति बनेको छ ।  समानुपातिकको सिट बाँडफाँड अघि चाहिं कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा र राष्ट्रिय जनमोर्चाको मात्रै गठबन्धनले सरकार बनाउन बहुमत नपुग्ने स्थिति मत परिणामले देखाएको छ । अब राप्रपा र रास्वपाले यो सत्ता गठबन्धनलाई साथ दिने हुन वा होइन थुप्रै आशंका छ । 

संवैधानिक राजतन्त्र, हिन्दुराष्ट्र पक्षधर र संघीयता विरोधी राप्रपा सरकारमा जान सहमत भयो भने पनि युवा समुदायको भावना र सुशासनको नारा दिएर उदाएको रास्वपाले यति छिटै सत्ताको यात्रा गर्ने कुरामा धेरै शंका छ । सायद रास्वपाले जनमतको भावनालाई ख्याल गर्दै सरकार भन्दा विपक्षमा बस्ने कुरालाई नै रोज्ने छ । त्यसैले आगामी सरकार ६ दल सम्मिलित महाखिचडीको संयुक्त सरकार बन्ने संकेत देखिएको छ । यद्यपि भावी सरकार गठनमा सत्ता गठबन्धन दलले निकै ठुलो कसरत गर्नुपर्ने भएको छ । 

सरकार गठनका लागि दोस्रो ठुलो दल नेकपा (एमाले) ले पनि कसरत गर्न थालेको छ । कांग्रेसलाई बाहिर राखेर माओवादी केन्द्र, एकीकृत समाजवादी, राप्रपा र जसपासँग मिलेर एमालेले सरकार गठन गर्न सक्ने झिनो सम्भावना पनि छ । गठबन्धन दलबाट भावी सरकारको नेतृत्व लिन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चाहाना राखिरहेका छन । विगतमा माओवादी केन्द्रले नै तेस्रो ठुलो दल कांग्रेसबाट शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएकाले अहिले कांग्रेसले तेस्रो ठुलो दल माओवादी केन्द्रलाई साँढे दुई वर्ष प्रधानमन्त्री दिनुपर्ने जिकिर गरिरहेको छ । यसमा कांग्रेसका पार्टी सभापति एवम प्रधानमन्त्री देउवा मौन रहँदै आएका छन । कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री नदिए वा आफैले लिन खोजे माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कांग्रेस गठबन्धनबाट भड्किएर एमालेसँग मिल्न जाने सम्भावना पनि उत्तिकै रहेको बताइन्छ ।

२०६३ माघपछि माओवादी केन्द्र माधव कुमार नेपालको २६ महिने सरकारमा बाहेक अरू सबै सरकारमा सहभागी भई सत्ताको स्वादमा रमाउदै आएको छ । त्यही भएर माओवादी केन्द्र सत्ता बाहिर बस्न सक्दैन । अझ उसले सरकारको नेतृत्वकै दावा गर्दैछ । त्यो अवस्थामा आफ्नो प्रतिस्पर्धी दल कांग्रेसलाई कमजोर पार्न एमाले अध्यक्ष ओलीले प्रचण्डलाई प्रधानमन्त्रीको पद नदेलान भन्न सकिने स्थिति पनि छैन । एमाले, माओवादी केन्द्र र समाजवादी मिल्दा एक जना राष्ट्रपति, एक जना प्रधानमन्त्री, एक जना सभामुख र अन्य साना दललाई उपराष्ट्रपति, उपसभामुख र उपप्रधानमन्त्री दिएर राजनीतिक शक्ति सन्तुलन मिलाउने सम्भावना पनि उत्तिकै छ ।

भावी सरकार गठनका सम्भावित समीकरणका विभिन्न अनुमानबीच कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड भने पुरानै पाँच दलीय गठबन्धन कै सरकार बनाउने तयारीमा जुटेका छन । यी दलहरूले  प्रत्यक्ष र समानुपातिक सिटमा प्राप्त गर्ने सम्भावित संख्या जोड्दा सत्ता गठबन्धनकै बहुमत पुग्ने निष्कर्षसहित पाँच दलको बैठक बोलाउने समझदारी गरेका छन् । 

तर सरकार गठनमा आवश्यक पर्ने बहुमत १३८ सिट पुग्ने देखिदैन । समानुपातिकको मतपरिणाम गणनाकै क्रममा छ । कुन पार्टीले कति सिट ल्याउछन भन्ने अनुमान गर्ने बेला भइसकेको छैन । समानुपातिक सिट समेत जोडेर कांग्रेसले बढीमा ९१, माओवादी केन्द्रले बढीमा ३५, एकीकृत समाजवादीले १०, लोसपा ४ र राजमोले १ गरि १३९ सिटको बहुमत पु¥याउने दावी देउवा र प्रचण्डको २०७९ मंसिर १० गते शनिवारको भेटवार्ताले निष्कर्ष निकालेको बताइन्छ ।

एमालेका अध्यक्ष ओली पनि एमालेको ८३ सिट, राप्रपाको १३ सिट, जसपाको ६ सिट सहित १०२ सिट पुग्ने निष्कर्ष सहित सरकार गठनको कसरत गर्दैछन । ओलीले पनि माओवादी केन्द्र, एस, रास्वपा सबैलाई मिलाएर सरकार गठन गर्ने कसरत थालेका छन । यसमा ओली कति सफल हुन्छन हेर्न बाँकी छ । नयाँ जनादेश प्राप्त भएकाले पुराना तितामिठा कुरा ओलीले बिर्सिएर प्रचण्डसँग सहकार्य गरेर जान आग्रह गरेका छन । 

ओलीले प्रचण्डलाई फोन गरी मिलेर जान आग्रह पनि गरिसकेका छन । सत्ता महत्वकांक्षी प्रचण्ड देउवाले प्रधानमन्त्री नदिए एमाले गठबन्धनमा नआउलान भन्न सक्ने स्थिति छैन । मंसिर १० गते शनिवार देउवा र प्रचण्डबीच संवाद भएलगत्तै भारतीय राजदूत नवीन श्रीवास्तव बालुवाटार र खुमलटारमा पुगेर देउवा र प्रचण्डसँग चुनावी परिणाम र आगामी सरकार गठनबारे गहिरो चासो राखेका थिए । भारतको चाहाना अहिलेकै गठबन्धनलाई निरन्तरता दिने देखिन्छ । भारत देउवालाई प्रधानमन्त्री, महन्थ ठाकुर र डा. बाबुराम भट्टराई मध्ये एकलाई राष्ट्रपति बनाउने पक्षमा रहेको स्रोत बताउँछ । साँघुबाट