स्याङ्जा । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका कार्यकर्ताले बुथ कब्जा गरेर आफू खुशी मतदान गरेको भन्दै एमालेले पुन: मतदानको माग गरेको छ ।
नेकपा एमालेकी सचिव पद्मा अर्यालले स्याङ्जा–२ को ४ वटा मतदान केन्द्रमा पुन: मतदान गर्न माग गरेकी हुन् ।
आइतबार पत्रकार सम्मेलन गरी उनले सत्तारुढ गठबन्धनका कार्यकर्ताले बुथ कब्जामा लिएर आफूखुशी मतदान गरेको भन्दै ४ वटा मतदान केन्द्रमा पुनस् मतदान गर्न माग गरेकी छन् ।
सत्तारुढ गठबन्धनका कार्यकर्ताले मतदान केन्द्रलाई नियन्त्रणमा लिएर, हुल हुज्जत गरेर, डर धाक धम्की देखाएर मतपत्र कब्जामा लिएर मतदान अधिकृतको सही गराउँदै मतपेटिकामा खसालेको सचिव अर्यालले पत्रकार सम्मेलनमा बताइन् । साथै उनले बुथ कब्जा भएका मतदान केन्द्रमा ९८ प्रतिशतसम्म मत खसेको देखिएको बताइन् ।