सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

‘म जिउँदो छु भन्ने कुराको पनि प्रमाण माग्नेछन्’

शुक्रबार, मंसिर २ २०७९

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राज्यले आफूलाई बारम्बार दुख दिए पनि जनताको पक्षमा आवाज उठाउन नछाड्ने घोषणा गरेका छन्।

नागरिकता विवादको विषयले चर्चामा आएका उनले रास्वपाको चुनाव आम सभालाई सम्बोधन गर्दै चितवनको नारायणी किनारबाट भने,‘अब म बाँचेको प्रमाण मात्र खोज्न बाँकी छ, त्यो पनि खोज्नेछन् कहिल्यै जवाफ नदिएकाहरूले।’

आगामी ४० बर्षपछिको नेपाललाई उदाहरणीय बनाउने भए रास्वपालाई जिताउन अपिल गरेका लामिछानेले भ्रष्टाचारीलाई ठाउँको ठाउँ तह लगाउने रणनीति अपनाउने बताए।

स्वतस्फूर्त उपस्थित भएको जनसागरबीच लामिछानेले चितवनले जहिल्यै पनि न्याय दिएका कारण आफू कति पनि बिचलित नभएको बताए। ‘मलाई फसाउन खोजिँदा आन्दोलन गरेर चितवनले नै न्याय दिएको थियो, अहिले पनि घेराबन्दीमा पारिएको छ चितवनले चुनावमा जिताएर न्याय दिनेछ’, लामिछानेले भने,‘अब यो नयाँ युगको सुरुवातका निम्ति चितवनले न्यायको मत दिनेछ।’

उनले आफूलाई अहिलेका शासकले षडयन्त्र गरी गरी फसाएको बताउँदै भने,‘मलाई अभिमन्यु बनाएर चक्रव्युहमा पारिएको छ तर बारम्बार मैले न्यायका निम्ति परिक्षा दिएको छु।’

चुनावमा चलखेल हुने आफूलाई जानकारी भएको बताएका लामिछानेले त्यसलाई रोक्ने बताउँदै सत्ता गठबन्धनलगायतलाई लक्षित गर्दै भने,‘हाम्रो चुनाव चिन्ह त घन्टी हो तर सबैको ब्यान्ड बज्नेवाला छ।’

लामिछानेको उक्त आम सभामा विभिन्न कलाकारहरूले सम्बोधन गरेका थिए। रमेश उप्रेती, किरण केसी, दिपाश्री निरौला, निर्मल शर्मालगायतका कलाकारले रास्वपालाई जिताउनका लागि अपिल गरेका थिए।