बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

मुलुकको निर्यात व्यापारमा गिरावट

बुधबार, कार्तिक ३० २०७९

तीन महिनामा ४१ अर्ब ८२ करोड रुपैंयाँको वस्तु निर्यात

काठमाडौं, मुलुकको निर्यात व्यापारमा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले आज बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती सम्वन्धी चालु आर्थिक बर्षको पछिल्लो तीन महिनाको प्रतिवेदन अनुसार निर्यात व्यापारमा गिरावट आएको देखिएको हो । आर्थिक वर्ष २०७९/८० को तीन महिनामा कुल वस्तु निर्यात ३५ दशमलव सात प्रतिशतले कमी आई ४१ अर्ब ८२ करोड पुगेको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात एक सय नौं दशमलव पाँच प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत  चीनतर्फ भएको निर्यात क्रमशः ४५ प्रतिशत र ३५ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात पाँच प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, ऊनी गलैचा, तयारी पोशाक, चिया लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, जुटका सामान, सुन चाँदीका सामान तथा गरगहना लगायतका वस्तुको निर्यात घटेको राष्ट्र बैकले जनाएको छ ।  

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० को तीन महिनामा कुल वस्तु आयात १६ दशमलव दुई प्रतिशतले कमी आई चार खर्ब एक अर्ब पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६३ दशमलव सात प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १४ दशमलव आठ प्रतिशत, १६ दशमलव सात प्रतिशत र १९ दशमलव दुई प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पंज आइरन, औषधी, कोइला लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टपुर्जा, चाँदी, दूरसञ्चारका उपकरण तथा पार्ट् स, कच्चा सोयाविन तेल, एम.एस. तार, छड, बार, क्वाइल लगायतका वस्तुको आयात घटेको राष्ट्र बैंकको भनाई छ । निर्याततर्पm सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची, त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्पm सुख्खा बन्दरगाह, जलेश्वर, तातोपानी बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ । 

आर्थिक वर्ष २०७९/८० को तीन महिनामा कुल वस्तु व्यापार घाटा १३ दशमलव एक प्रतिशतले कमी आई तीन खर्ब ५९ अर्ब १८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ५८ दशमलव तीन प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १० दशमलव चार प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १३ दशमलव छ प्रतिशत रहेको राष्ट्र बैंकको भनाई छ ।