काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा काभ्रे जिल्ला सह इञ्चार्ज रेशम लामा काभ्रेपलाञ्चोक क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा छन् ।
उनी सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य सूर्यमान दोङसँग चुनावी प्रतिस्पर्धामा छन् ।
पूर्वमन्त्रीसमेत रहेका लामा गठबन्धनका उमेदवार एवम् करिब ३ दशकदेखि राजनीतिमा सकृय रहँदै आएका छन् । राप्रपा नेपालको महामन्त्री पद र देउवा सरकारको मन्त्री पद एकसाथ त्यागेर एमाले प्रवेश गरेका लामाकाे काभ्रेपलाञ्चोकको राजनीतिमा प्रभावकारी भूमिकामा देखिँदै आएको छ ।
युवा मैत्री नेताका रूपमा परिचित लामा २०७४ सालमा एमाले प्रवेश गरेका हुन् । देशमा केही गर्ने अठोट लिएका लामा एमाले अध्यक्ष केपी शर्मा ओलीको राष्ट्रियताको एजेण्डाका पक्षधर मानिन्छन् ।
‘असल पुस्ताको निर्माण, रेशम लामाको अभियान’ भन्ने नारा लिएर युवापुस्तालाई सङ्गठित गर्दै आएका नेता लामा स्पष्ट वक्ता, सकारात्मक र सहयोगी पात्रका रूपमा काभ्रेलीमाझ लोकप्रिय छन् ।
काभ्रेको कोशीपारी चौंरी देउरालीलगायतका स्थानमा भएको चुनावी प्रचारप्रसार अन्तर्गतको घरदैलोमा पुग्दा नयाँ विकल्पका रूपमा रेशम लामा र दिलिप लामालाई मत दिएर पठाउने त्यहाँका तमाम मतदाताको चाहना पाएको उनले बताए। उनले भने, ‘हामी उहाँहरूको विश्वासलाई मूर्तरुप दिने सङ्कल्प गरेर फर्केका छौं ।’
साथै निर्वाचन भनेको जित्ने जिताउने मात्रै नभएर राजनीतिक बेइमानीलाई चिर्ने अवसर पनि भएको बताउँदै उनले भने, ‘कोशीपारी जस्तो माटो, हावापानी, प्राकृतिक सुन्दरता र त्यहाँका सफा मान्छेहरूलाई गुमराहमा राखी दुर्गम, अशिक्षित, दुखैदुखको क्षेत्र भनेर नेकपा माओवादी केन्द्रका साथीहरूले जुन भ्रमपूर्ण प्रचार गर्नु भएको छ, त्यो जनतामाथीको भयानक राजनीतिक बेइमानी हो । यहीका जनताका दुख कष्ट बिक्री गरेर केही नेताहरू राजनीतिक व्यापार कायम राख्न चाहन्छन् । एउटा सभ्य, स्वतन्त्र र संभावनायुक्त भुगोललाई अपव्याख्या गर्दै भोट कुम्ल्याउनेहरुको खेल समाप्त पार्न हामी आएका छौं ।’ उनले भने ।
उनले आफ्नो क्षेत्र रहेको कोशीपारीलाई अरूले जस्तो दुर्गम भनेर अपव्याख्या गर्न नहुने बताउँदै यहाँको छिमेकी जिल्लाहरुसँग अन्तर बजार निर्माण गरेर, अन्तर पर्यटन जोडेर, उत्पादन, जनशक्ति र बजारको समेत विनिमय गरेर कोशीपारीको समाजले अझै लाभ लिन सक्ने बताए ।
एमाले नै जनताको आधारभूत तहसम्म सञ्जाल भएको पार्टी भएकोले यसका कमिटिका जनसेवक मार्फत यस क्षेत्रको आवश्यकताको खाका बनाउने काम समेत भएको उनले जानकारी दिए ।
चौंरी देउराली सिन्धुपाल्चोक, दोलखा र रामेछाप जिल्लासँग जोडिएको कारण पनि यहाँ विकासका नयाँ मोडेल र योजना अघिसार्न सहज हुने उनको तर्क छ । देउरालीको पाथीभरा मन्दिर, साँगासोतीदेखि नाग्रेको खाँडादेवी मन्दिर, कोइलीबगरदेखि शैलुङ रामेछाप लगायत सल्ले भुम्लुको सुन्दर हरित क्षेत्रलाई पर्यटकीय विकासका रुपमा योजना अघि बढाउन सकिने उनको भनाइ छ ।
एमाले उम्मेदवार लामाले सबै कुराको संभावनालाई अघि बढाउन खानेपानी र सडकबाटोको स्तरोन्नति सबैभन्दा प्राथमिकतामा राख्नुपर्ने बताए । लामाले कोशीपारीको तल्लोबेल्टको मोटरबाटोको स्तरोन्नतिका लागि आफूले यी र यो खालका सम्भावनालाइ मूर्त रुप दिलाउने प्रतिवद्धता समेत व्यक्त गरे । साथै उनले चुनावका बेलामा राजनीतिक प्रतिस्पर्धा भएपनि विकासका सवालमा भने सबै दल र आस्थाका जनतासँग साझेदारी गर्ने सङकल्प लिएको बताए ।