धनगढी । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज बुधबार गृह जिल्ला डडेल्धुरा जाँदैछन् । मंगलबार धनगढी पुगेका देउवा आज आफ्नो गृहजिल्ला एवं प्रतिनिधिसभा निर्वाचन क्षेत्र जान लागेका हुन् ।
४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि उनी सुदूरपश्चिम पुग्न लागेका हुन् । देउवाले आज बिहान साढे ११ बजे अजयमेरु गाउँपालिकाको देवल पार्कमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।
यस अघिका ६ वटा निर्वाचन जितेका देउवा यसरी पटक पटक चुनावकै लागि जिल्ला दौडमा जाने गरेका थिएनन् । डडेल्धुराबाट २०४८ सालदेखिका सबै चुनाव जित्दै आएका देउवामा यस पटक भने चुनाव जित्नेमा अलि सशंकित छन् । देउवासँग कांग्रेस विपीका वरिष्ठ उपसभापति कर्णबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाललगायत ८ जना उम्मेदवार चुनावी मैदानमा छन् ।
विशेषत: यसपटक उनलाई मल्ल र ढकालका कारण भय पैदा भएको छ । मल्लले कांग्रेस त्यसमा पनि आफ्ना असन्तुष्ट मत तान्ने र ढकालले अन्य दल र युवा जमातको मत तान्नाले नतिजा उलटपुलट हुनसक्ने भय छ । त्यसमाथि ढकाल विगत ४ महिनादेखि डडेल्धुराका गाउँगाउँ पुगेर मत मागिरहेका छन् । गएको स्थानीय चुनावमा काठमाडौंलगायतको निर्वाचन परिणामले शीर्ष नेताहरु यतिबेला झस्किएका छन् ।
फेरि प्रधानमन्त्री बन्ने अभिलाशामा रहेका देउवा जसरी पनि चुनाव जित्नै पर्नेमा छन् । चुनावमा मत दिएर जिताएमा अनेक ठाउँमा नियुक्ति दिनेदेखि फ्री भिसा फ्री टिकटको लालच दिनुपरेको छ । देउवा आफू कति पानीमा छन् यसबाटै थाहा हुन्छ । उनी प्रचारका लागि निर्धारित १७ कात्तिकयता जम्माजम्मी पाँच जिल्लामा पुगिसकेका छन् ।
यसअघि देउवा चार दिन सातवटै स्थानीय तहमा वाम–लोकतान्त्रिक गठबन्धनले आयोजना गरेका चुनावीसभामा सहभागी भएका थिए । देउवा सातौं पटक डडेल्धुराबाट निर्वाचन लड्दै छन्।