बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

झापा-१  ‘हेवीवेट’ बीच प्रतिस्पर्धा : विश्वप्रकाश र अग्नि मध्ये कसको मूर्त बन्ला संसद् छिर्ने प्रयास !

मंगलबार, कार्तिक २९ २०७९

झापा । झापा क्षेत्र नं १ ले यतिबेला मुलुककै ध्यान खिचेको छ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) का दुई ‘हेवीवेट’ बीचको कडा प्रतिस्पर्धा सो क्षेत्रमा रहेको छ । 

चुनावलाई आफ्नो पक्षमा पार्न उनीहरु घरदैलोमा व्यस्त छन्  । कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) को लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र एमाले–राप्रपा तालमेलका तर्फबाट अग्नि खरेल उम्मेदवार बनेका छन् । उनीहरु सहित यो क्षेत्रमा १५ जनाको उम्मेदवारी परेको छ । ती मध्ये तीन जना स्वतन्त्र उम्मेदवार छन् ।

दोस्रो संविधानसभा निर्वाचन, २०७० मा एमालेका रविन कोइराला र २०७४ को संसदीय चुनावमा माओवादी केन्द्रका राम कार्कीसँग पराजय भोगेका शर्मा तेस्रोपटक चुनावी मैदानमा हुनुहुन्छ भने एमाले स्थायी कमिटी सदस्य खरेल आफ्नो गृहक्षेत्र झापा–२ भए पनि झापामा इन्ट्री गरेका छन् । संसद् छिर्ने प्रयासलाई मूर्तरुप दिन जनताको ‘म्याण्डेड’का लागि शर्मा र खरेल दुवै अहोरात्र खटिरहेका छन् ।

महामन्त्री शर्मा सुकुम्बासी समस्या समाधान, पुल निर्माण, नदी कटान नियन्त्रण, पर्यटकीय केन्द्रका स्तरीकरण, झापा–१ जोड्ने रिङरोड निर्माणलगायतका स्थानीय विकास र चासोको विषयलाई समेट्ने मतदातासमक्ष प्रतिबद्धता जनाउँदै छन् ।

पटक पटक पराजयको तितो अनुभव भोगेका शर्मालाई यसपटक पनि विजयी हुन निक्कै मुश्किल रहेको स्थानीयले बताएका छन् । यहाँ एमालेको बलियो शक्तिसहित जनमत मात्र होइन यहाँ उनलाई पार्टी भित्रैबाट असहयोग हुने आशंका गरिएको छ । 

एमालेको पकड मानिने यो क्षेत्रमा एमाले–राप्रपा तालमेलका उम्मेदवार खरेल अझ शक्तिशाली छन् । आफू जहिले विकास र निर्माणको संसदीय प्रक्रियामा आफू गाँसिएको भएको उनले बताए । “जनताको समस्या मेरो समस्या हो”, उनले भने, “मैले ती समस्या बुझेको छु ।”

मेची, निन्दा, हडियाखोलमा बर्सेनि आउने बाढीले त्यहाँका स्थानीय समस्यामा पर्ने भएकाले तटबन्धन निर्माण गर्न आफू प्रतिबद्ध रहेको खरेलको भनाइ छ । हात्ती समस्या नियन्त्रणका लागि प्रभावकारी कार्य गर्ने उनले बताए । “यहाँका समग्र समस्या समाधानका लागि हामी प्रतिबद्ध छौँ”, उनले भने, “हामीलाई मतदान गरे विजय गराउन मतदातासमक्ष अनुरोध गर्दछौँ ।”

‘जबजब देशमा एमाले सरकारले नेतृत्व गरेको छ तबतब जनपक्षिय नीतिहरू बनेका छन्। तबतब गाउँमा विकास भएका छन्। देश बन्नका लागि पहिला गाउँ बन्नुपर्छ भन्ने हाम्रो विश्वास छ। त्यसैले गाउँवासीहरूको आवश्यकता अनुसारका नीति बनाएर गाउँको विकास गर्नु हाम्रो पहिलो प्राथमिकता रहेको छ।’ उनले भने ।

शर्मा र खरेल दुवैले स्थानीय अवस्था, आवश्यकता र केन्द्रीय घोषणापत्रलाई आधार बनाएर प्रतिबद्धता जनाइरहेका छन् । दुवै उम्मेदवारले आफ्नो जित सुनिश्चित भएको दाबी गरिरहे पनि परिणाम आफ्नो पक्षमा पार्न त्यति सहज छैन । विसं २०५७ मै कांग्रेसको महाधिवेशन प्रतिनिधि हुँदै २०७२ मा केन्द्रीय सदस्यमा निर्वाचित भएका शर्मा २०७४ मा पार्टीका प्रवक्ता भए । विसं २०७६ मा कांग्रेसको तर्फबाट सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख हुनुभएका उनी हालका महामन्त्री हुन् ।

विसं २०६४ र २०७० को संविधानसभा सदस्य रहेका वरिष्ठ अधिवक्ता खरेल पूर्वकानुनमन्त्री हुन् भने हाल उनी एमालेका स्थायी समिति सदस्य र झापा इञ्चार्ज समेत हुन् । उनी कानुनको ज्ञातासमेत हुन् ।

झापा क्षेत्र नं १ मा लोकतान्त्रिक–वाम गठबन्धनअन्तर्गत प्रत्यक्षतर्फ प्रतिनिधिसभामा सदस्यमा शर्मा, प्रदेशसभा (१) मा गोपाल तामाङ र (२) मा श्यामवीर लिम्बू चुनावी मैदानमा छन् भने एमालेबाट प्रतिनिधि सभामा खरेल, प्रदेशसभा (१) मा रविन कोइराला र (२) मा सविना बजगाईँ कट्टेल छन् । मेचीनगर नगरपालिकाका १५ वटै वडा, भद्रपुरको ९, १० नम्बर वडा र बुद्धशान्ति गाउँपालिकाको ४, ५ , ६, ७ वडा मिश्रित झापा क्षेत्र नं १ मा एक लाख २० हजार तीन सय ७५ मतदाता छन् । जमध्ये करिब १३ हजार नयाँ मतदाता थपिएका छन् ।

स्थानीय चुनावमा वडाध्यक्षले प्राप्त गरेको मतअनुसार यहाँ एमालेसँग ३१ हजार दुई सय ३२ मत छ भने कांग्रेससँग २४ हजार ५९ मत छ । राप्रपासँग पाँच हजार नौ सय २२ मत रहेको क्षेत्रमा माओवादीसँग तीन हजार नौ सय पाँच, एकीकृत समाजवादीसँग एक हजार दुई सय ५२ र लोकतान्त्रिक समाजवादी पार्टीसँग दुई सय ६२ मत छ ।

नयाँ थपिएको मतदाता र चुनावको मुखमा दल अदलबदलको क्रमले चुनावी प्रतिस्पर्धा पेचिलो बन्ने निश्चित छ ।