काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई म्याद सकिएको औषधिको संज्ञा दिएका छन्। सोमबार चितवनको भरतपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले देउवा दाहालप्रति कटाक्ष गरेका हुन्।
कांग्रेस माओवादी र समाजवादीको गठबन्धनप्रति आक्रोश पोख्दै ओलीले दाहाल र देउवाबाट देशका लागि केही हुन नसक्ने भन्दै म्याद सकिएको औषधिका रुपमा चित्रित गरेका हुन्। ‘उनीहरु म्याद सकिएका औषधि हुन्। आउट डेटेट नक्कली औषधि हुन्, ओलीले भने।
भाषणमा देउवाभन्दा दाहालप्रति असहिष्णु देखिएका ओलीले माधव नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेपछि सोमबारकोसभामा नरिम देखिए।
उनले प्रचण्डलाई स्वार्थ र धोकेवाजका रुपमा प्रस्तुत गर्दै भने, ‘प्रचण्ड को हुन् भन्ने कुरा सहिदका परिवार, घाइतेका परिवार, जिउमा छर्रा लिएर बसेका, ह्वील चियरमा हिड्नेलाई थाहा छ। प्रचण्ड को हुन् गौर हत्याकाण्डमा मारिएकाका परिवारलाई सोध्नुहोस्।’
ओलीले दाहालले कार्यकर्तालाई धोका दिएर आफन्तलाई मात्रै अवसर दिएको आरोप लगाए। ‘छोरीका लागि, बुहारीका लागि, भाइका लागि, नातेदरका लागि गर्ने तर जनताका लागि केही नगर्ने, ओलीले भने।
ओलीले दाहालले आफ्ना नाउमा नराखे पनि अथाह सम्पत्ति जम्मा गरेको आरोप लगाए। ओलीले सार्वजनिक रुपमा भने, आफ्ना नाममा केही छैन, घर बनाएको छैन भन्ने तर दशवटा घर बनाएका छन्। लाजिम्पाटमा रित्तो राखेर अहिले खुमलटारमा सरेका छन्। ५० वटा ठेक्का हानेका छन्।’
ओलीले देउवा पाँचपटक प्रधानमन्त्री भए पनि देशका लागि केही गर्न नसेको आरोप लगाए। ‘पाँचपटक प्रधानमन्त्री बन्दा देशका लागि के गर्नुभयो? मलाई आमसभाबाट लल्कारेर भनिदिए हुन्छ, प्रत्येक पटक प्रधानमन्त्री हुँदा गरेका एक एक वटा काम? के गर्नुभयो?, उनले प्रश्न गरे।
ओलीले गोरखामा आफ्ना उम्मेदवार अब्दुस मियाँ र चितवनमा रवि लामिछानेप्रति भएको आक्रमणको विरोध गरे।
आफूले चितवनमा राम लक्ष्मणको धाम बनाउँछु भन्दा विरोध गरेका दाहाल भागेर गोरखा पुगेको भन्दै कटाक्ष गरे। ‘मैले राम लक्ष्मण खेलेको ठाउँमा बाउछु भन्दा दुश्मनी गरे। अहिले उकालो तिर भागेका छन्। गोरखामा भोटले चुनाव जित्ने अवस्था रहेनछ। अब गुण्डागर्दी, काटमारमा लागेका छन्। खाना खाइ रहेका बेला, सल्लाह गरिरहेका बेला वियरका बोतल हान्ने? यहीँ हो प्रजातन्त्र?’
ओलीले रवि लामिछानेप्रति आइतबार भएको घटनाप्रति आपत्ति जनाउँदै भने, ‘एउटा युवा आयो उठ्छु भन्यो उठयो। अब ढुङ्गा हान्ने? कति आत्तिएका होला? म यस्ता गुण्डागर्दीको भत्सना गर्छु। ढ्ङ्ग्रो बजाएको होइन, घण्टी बजाउन पनि नदिने?’ उनले स्थानीय चुनावमा गठबन्धनले ५ जना मारेको आरोप लगाए।