पश्चिम नवलपरासी । पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं १ को चुनावी माहोलले सबैको ध्यानाकर्षण गरेको छ । कसैलाई नयाँ ठाउँको चिन्ताले तनाव सिर्जना भएको छ भने कसैलाई परिवर्तनको डरले सताएको छ ।
निर्वाचन क्षेत्र नं १ को प्रतिस्पर्धामा रहेका उम्मेदवारद्वय विनोदकुमार चौधरी र हृदयेश त्रिपाठी चुनावी रणभूमिमा आमनेसामने छन् । उद्योगपति एवं अर्बपति चौधरी नेपाली कांग्रेसबाट चुनावी मैदानमा छन्। त्रिपाठी जनता प्रगतिशील पार्टीबाट चुनावी मैदानमा छन् । चौधरी लोकतान्त्रिक वाम–गठबन्धनका उम्मेदवारसमेत हुन् भने त्रिपाठीले नेकपा (एमाले) को समर्थनमा उम्मेदवारी दिएका छन् ।
यस क्षेत्रबाट एमालेको तर्फबाट उम्मेदवार बनेकी सिन्धु जलेसा बुढाथोकीले पछि आफ्नो उम्मेदवारी फिर्ता लिएकी थिइन् । पार्टीको केन्द्रीय निर्देशनअनुसार उनले आफ्नो उम्मेदवारी फिर्ता लिएकी थिइन् ।
यी दुवै उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । चौधरीले लोकतान्त्रिक वाम–गठबन्धनबाट उम्मेदवारी दिए पनि उनले निर्धक भएर ‘म चुनाव जित्दैछु’ भन्न सकेका छैनन् ।
यस्तै यो क्षेत्रबाट लामो समयदेखि राजनीति गर्दै आएका त्रिपाठी पनि म चुनाव जित्छु भन्नसक्ने अवस्थामा छैनन् । त्रिपाठीले अर्बपति चौधरी र आफ्नो चुनावी प्रतिस्पर्धालाई धनाढ्य व्यक्ति र राजनीति कार्यकर्ताको लडाईँका रुपमा हेरेको बताउँदै आएका छन् । राजनीतिलाई सौखका रुपमा हेर्ने र स्वार्थका लागि चुनाव जिते राजनीति प्रणालीलाई नै दूरगामी असर पार्ने भएकाले मतदाताले त्यसमा विचार गर्नेमा आफू विश्वस्त रहेको त्रिपाठीको भनाइ छ ।
मधेसको मुद्दामा लामो समय राजनीति गर्दै पाँच पटक विजयी हासिल गरेका त्रिपाठी २०७४ सालको निर्वाचनदेखि एमालेको सहारामा चुनाव लड्न बाध्य छन् ।
यस निर्वाचन क्षेत्रमा बर्दघाट नगरपालिका, सुस्ता गाउँपालिका, प्रतापपुर गाउँपालिका र सरावल गाउँपालिका ४, ५, ६ र ७ वडा पर्छन्।
स्थानीय तहमा वडा तहमा खसेको मतका आधारमा कांग्रेस पहिलो र एमाले दोस्रोमा छ यसमा त्रिपाठीको पार्टी जोडिदा चौधरीलाई चुनौति हुनसक्ने देखिएको छ । त्रिपाठी राजनीतिका पुराना र जिल्लादेखि केन्द्रसम्म नाम कमाएका उम्मेदवार हुन् ।
२०७४ को निर्वाचनमा वाम गठबन्धनका उम्मेदवारका रुपमा त्रिपाठीले कांग्रेसका देवकर्ण कलवारलाई पराजित गरेका थिए।
विसं २०७४ को निर्वाचनमा त्रिपाठीले सूर्य चिह्न लिएर विजयी भएका थिए।
त्रिपाठी ३८ हजार ५ सय ९२ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका देवकर्ण कलवारले ३३ हजार ४ सय ९१ मत पाएका थिए।
२०७० को निर्वाचनमा भने कलवारले त्रिपाठीलाई हराएका थिए।
अहिले उनी आफ्नै पार्टीको चुनाव चिह्न कोदालो बोकेको किसान लिएर चुनावमा होमिएका छन् । यसैगरी पटक पटक समानुपातिकबाट सांसद बनेका चौधरी यस पटक प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा होमिएका उम्मेदवार हुन् ।