काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्यले प्रचण्डजीहरु नै प्रतिगमनकारी रहेको आरोप लगाएका छन् ।
बुधवार काठमाडौंस्थित शान्तिबाटिकामा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (मशाल), नेकपा(बहुमत) र माओवादी कम्युनिष्ट पार्टी, नेपालको संयुक्त आयोजनामा गरिएको निर्वाचन बहिस्कार सभामा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले निर्वाचन आयोगले आफूहरुलाई दमन गरिरहेको समेत बताए । आफूहरु निर्वाचनको बहिष्कारको पक्षमा रहेको भन्दै आचारसंहीता नलाग्ने जिकिर गर्दै उनले शान्तिपूर्ण तरिकाले प्रचारप्रसार गर्दा अवरोध भएको भन्दै सत्तारुढ गठबन्धनका नेता पुष्पकमल दाहाल प्रचण्डमाथि आक्रोश पोखे । उनले प्रचण्डजीहरुले प्रतिगमनको बिरुद्धमा लडेको भनेपनि आफूहरु माथि प्रतिगमन गरेको बताए । उनले जनताको मौलिक अधिकारलाई खोसेर कुन प्रतिगमनका बिरुद्ध लड्ने हो ? भनि प्रश्नसमेत गरे ।
उनले भने ‘ठाउँ ठाउँ पूरै दमन गरिराखेको छ । यसको कारण के हो ? निर्वाचन आयोग के हो ? त्यसको आचारसंहीता के हो ? निर्वाचन आयोग को हो ? आचारसंहीता हामीलाई किन लाग्ने ? हामी बहिस्कारवादीलाई किन लाग्ने त्यो आचारसंहीता ? भन्छन् लोकतन्त्र , शान्तिपूर्ण तरिकाले प्रचारप्रसार गर्दाखेरी माइक भाँचिदिने, पर्चा, पम्प्लेट लुट्ने, नेता, कार्यकर्ताहरुलाई गिरफ्तार गरेर राख्ने । यो के तरिका हो ? यही हो लोकतन्त्र । प्रचण्डजीहरु भन्नुहुन्छ प्रतिगमनको बिरुद्ध । यहाँभन्दा ठूलो प्रतिगमन के हो ? जनताको मौलिक अधिकारलाई खोस्ने, अनि कुन प्रतिगमनका बिरुद्ध लड्ने हो ? प्रतिगमन त उहाँहरुले नै गरिरहनुभएको छ । यो के लोकतन्त्र हो ? लोकतन्त्र फाँसिवादतिर गइराखेको छ ।’
नयाँ क्रान्तिको तयारीका लागि मंसिर ४ गतेको निर्वाचन बहिस्कार गरेको उनले बताए ।
उनले नयाँ क्रान्तिको तयारीका लागि निर्वाचन बहिष्कार गरिएको बताएका थिए । वैैद्यले विद्यमान राज्यव्यवस्थाको अन्त्य गर्दै जनवादी राज्यसत्ता र वैज्ञानिक समाजवाद ल्याउन जरुरी रहेको बताए । उनले नयाँ क्रान्तिको तयारी गर्न क्रान्तिकारी कम्युनिष्टहरु एकतावद्ध हुनुपर्नेमा जोड दिए ।
महासचिव वैद्यले राज्यका तीन वटै अंगहरु कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका असफल भइसकेको समेत जिकिर गरे ।