मकवानपुर । नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य एवं गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार विरोध खतिवडालाई एक स्थानीयले झापड हानेका छन् ।
चुनाव जितेर गएपछि कहिल्यै नआएको र चुनावमा फेरि ढाँट्न किन आएको भन्दै एक मतदाताले आज खतिवडालाई हातपात गरेका थिए ।
पश्चिम मकवानपुरको मनहरी गाउँपालिका ४ मा भोट माग्न पुगेका खतिवडा आफ्नो गाडीबाट ओर्लनसाथ अन्दाजी ५० वर्षका पुरुषोत्तम खड्काले दुई झापड हानेका थिए । खडकाले सधै ढाँटने भन्दै झापड हानेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।
उम्मेदवारमाथि हातपात भएपछि इलाका प्रहरी कार्यालय नेवारपानीले खड्कालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाएको छ ।
खड्काले मादकपदार्थ सेवन गरेको पाइएको छ र पुरानो रिसइबीका कारण हातपात भएको प्रारम्भिक अनुसन्धानमा बुझिएको प्रहरीले बताएको छ ।
पूर्वमन्त्री समेत रहेका खतिवडामाथि कुटपिट गर्ने खड्का सत्ता गठबन्धनमै रहेको नेकपा माओवादी केन्द्रका कार्यकर्ता रहेको बुझिएको छ ।