डडेल्धुरा । नेपाली कांग्रेस नेतृ एवं प्रधानमन्त्रीपत्नी डा. आरजु राणा आफ्नो अभिव्यक्तिकै कारण विवादमा आउने गरेकी छिन् ।
स्थानीय तहको चुनाव ताका फ्रि भिसामा मलेसिया पठाइदिने अनि कांग्रेसले जितेको पालिकामा मात्रै बजेट पठाइदिने भनेर उनी विवादमा परेकी थिइन भने अहिले उनी हेलिकोप्टरमा उडेर आउनसक्ने मान्छेलाई जिताउन आग्रह गरेका कारण विवादित बनेकी छिन् ।
शुक्रवार डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै उनले हेलिकोप्टरमा उडेर आउनसक्ने मान्छेलाई जिताउन मतदातालाई आग्रह गरेकी छन् । उनले जनतासंग भोट माग्ने क्रममा यस्तो अभिव्यक्ती दिएकी हुन् । यो गाउँठाउँलाई बनाउने, यो व्यवस्थालाई अगाडी सार्ने, संविधानको रक्षा गर्ने, हाम्रो देशमा शान्ति हुने, समृद्धि हुने र योभन्दा अगाडी जसरी आज हामी हेलिकोप्टरमा आयौँ उनले भनीन्, ‘आजभन्दा १०/१५ वर्षअगाडि यहाँ कतिजना हेलिकोप्टरमा उडेर यहाँ आउन सक्थे, क्षमता बनाउन सक्ने मान्छेलाई छान्नुहोस् । नेपाली कांग्रेसको रुख छापमा तपाईंहरूकै गाउँको शेरबहादुर देउवाजीलाई, प्रदेशमा गोविन्द बोहोराजीलाई जिताउनुस् ।’
यसअघि यसैगरि प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति देउवाको उम्मेदवारी दर्ता गर्दा आरजुले डडेल्धुरावासीलाई प्रधानमन्त्री निवास बालुवाटारमा सहज पहुँच बढेको बताएकी थिइन् । उनले डडेल्धुरावासीले ‘खुलजा सिमसिम’ भन्ने बित्तिकै बालुवाटारको ढोका खुल्ने बताएकी थिइन् ।
चुनावीसभामा सम्बोधनका लागि प्रधानमन्त्री देउवा सहित आरजु डडेल्धुरामा छिन् । शुक्रबार प्रधानमन्त्रीदेउवाकाे गृहपालिका गन्यापधुरा गाउँपालिकाको चुनावी सभालाई सम्बोधन गर्दै राणाले हेलिकोप्टरमा उडेर आउने क्षमता बनाउनसक्ने व्यक्तिलाई जिताउन आग्रह गरेकी थिइन् ।