काठमाडौँ – एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी सम्बोधन गर्ने क्रममा विकास गर्न एमाले नै चाहिने बताएका छन् । आज बैतडीको पाटनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले आफ्नो तीन वर्षे सरकारको पालामा देशमा ठूल्ठूलो विकास गरेको दाबी गरे ।
उनले विकास गर्न पनि एमाले नै चाहिने बताए । ‘यो देशमा विकास हुन एमाले नै चाहिन्छ । हुलाकी मार्ग हाम्रै सरकारको पालामा बन्यो । देशमा पहिले राति विमान उड्दैनथ्यो, त्यो एमाले सरकारकै पालामा सम्भव भयो । बुढाबुढी, केटाकेटी सबैलाई एमाले नै चाहिन्छ,’ ओलीले भने ।
ओलीले आफू मेचीबगरमा जन्मेको मान्छेले झुलाघाटको पुलको दयनीय अवस्था देखेको, तर पाँचचोटी प्रधानमन्त्री भएर पनि देउवाले त्यो नदेखेको उनले बताए । उनले आफ्नो सरकार बनेपछि झुलाघाटमा पक्की पुल बन्ने बताए ।
त्यसको जिम्मा एमाले र आफूले लिने उनले बताए । उनले आफूले दार्चुलाको खलंगामा आयोजित आमसभामा प्रतिनिधिसभाका उम्मेदवार कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूलाई जिल्ला होइन, काठमाडौंमै बस्न सल्लाह दिएको बताए ।