काठमाडौँ । सरकारले प्राविधिकतर्फका सहसचिव केशवकुमार शर्मालाई सचिवमा बढुवा गरेको छ ।
गत बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले तेस्रो नम्बरमा सिफारिस गरेका शर्मालाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ ।
लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मङ्गलवार बसेको बढुवा सिफारिस समितिको बैठकले प्राविधिक सहसचिवत्रय राम आधार साह, विश्वबाबु पुडासैनी र केशव शर्माको नाम सिफारिस गरेको हो । उनी अक्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत छन् ।
पहिलो नम्बरमा साह, दोस्रो नम्बरमा पुडासैनी र तेस्रो नम्बरमा शर्मा सिफारिस भएका थिए ।
यसअघि प्रायजसो पहिलो नम्बरमा सिफारिस भएका सहसचिवलाई सचिवमा बढुवा गर्ने गरिएको भएपनि यस पटक भने तेस्रो नम्बरमा सिफारिस भएका शर्मालाई मन्त्रिपरिषद् बैठकले बढुवा गरेको छ ।
बैठकले शाह र पुडासैनीलाई उछिनेर सडक विभागका क्याडर केशव कुमार शर्मा सचिवमा बढुवा गर्ने सिफारिस गरेको हो ।
सरकारले यसप्रकारको निर्णयका कारण गलत थितिबस्ने भन्दै कर्मचारी सशंकित भएका छन् । सरकारको यस्ता गलत र स्वार्थपूर्ण निर्णयले निजामति सेवामा गलत प्रकारको अभ्यास सुरु हुने, चाकडी र चाप्लुसीको परिपाटी बढ्ने देखिन्छ ।
यसैगरी पहिलो र दोस्रो नम्बरमा रहेका सिफारिसलाई पछि पार्दै शर्माले बाजि मारेसँगै इमान्दारपूर्वक सेवामा खटिएका कर्मचारीमा निरासा पैदा भएको छ ।
पहुँच र शक्ति भए जे पनि हुनसक्छ भन्ने चरीतार्थ पुष्टि भएको छ । प्राय अहिलेसम्मका कुनैपनि सरकारले निजामति क्षेत्रमा यो प्रकारको निर्णय गरेका थिएनन् । तर, वर्तमान देउवा सरकारले पहिलो र दोस्रो नम्बरमा सिफारिसलाई पछि पार्दै तेस्रो नम्बरका शर्मालाई सिफारिस गरेको छ ।
२०५२ सालमा सडक विभागमा इन्जिनियरको रुपमा सरकारी सेवा प्रवेश गरेका शर्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत छन् । २०६९ सालको अन्त्यतिर सहसचिवमा बढुवा भएका थिए । उनी सडक विभागका क्याडर हुन् ।
उनी यसअघि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको वैदेशिक समन्वय महाशाखामा कार्यरत थिए । उनी सडक विभागको महानिर्देशक समेत भइसकेका छन् ।
कात्तिक ९ गते सिंचाइ सचिव सागरकुमार राईले अनिवार्य अवकास पाएपछि प्राविधिक तर्फको रिक्त पदपूर्तिको लागि बढुवा गरिएको हो ।