बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु

मंगलबार, कार्तिक १५ २०७९

काठमाडौं : झापाको शिवसताक्षी नगरपालिका–१ स्थित सडकमा मे.१ ह ७२६० नम्बरको सिटीले किच्दा सिटीका चालक दमक नगरपालिका–५ बस्ने ४८ वर्षीय रण बहादुर खडकाको शनिबार दिउँसो मृत्यु भएको छ । सिटीबाट फर्निचरको सामान झारी सामान राख्ने क्रममा सिटी अचानक गुड्न गई किच्दा बेहोस भएका खडकाको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । 

सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ सखुवास्थित सडकमा हाल नम्बर नखुलेको स्करपियोले ज.१० प १३०८ नम्बरको मोटरसाइकललाई शनिबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक भारत घर भएका २२ वर्षीय नेक महमदको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । उक्त दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार स्करपियोको प्रहरीले खोजी गरिरहेको छ ।

रूपन्देहीको बुटवल उपमहानगरपालिका–१३ जितगढीस्थित सडकमा ना.६ ख ७९०९ नम्बरको बस र लु.२७ प ६९७४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएर गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक तिलोत्तमा नगरपालिका–१२ जैकुटी बस्ने ४८ वर्षीय शेर बहादुर थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवल हुँदै मेडिकल कलेज भैरहवामा थप उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।