भैरहवा । भैरहवाबाट परासीतर्फ जाँदै गरेको कारले स्थानीय पैदल यात्रीलाई ठक्कर दिँदा एक शिशुसहित तीन जनाको मृत्यु भएको छ ।
रुपन्देहीको ओमसतिया ४ पननीमा सोमबार बिहान ५ बजेर ४५ मिनेटमा भएको दुर्घटनामा अन्य दुईजना घाइते भएका छन् ।
छठ घाट जाने क्रममा स्थानीयलाई भैरहवातर्फबाट गएको गाडीले ठक्कर दिएको थियो । ठक्कर दिएपछि गाडीसहित फरार भएका चालक अझै पक्राउ पर्न सकेका छैनन् ।
मृतक र घाइते एकै गाउँको रहेको रुपन्देही प्रहरीले जानकारी दिएको छ ।
मृत्यु हुनेमा ओमसतिया ४ पननीकै वर्ष १४ की सीमा कुर्मी, वर्ष २८ की प्रमिला कुर्मी र ३५ दिनको एक शिशु छन् ।
त्यस्तै शिशुकी आमा २४ वर्षीया बन्दना कुर्मी र सोही ठाउँ बस्ने २६ वर्षीया मन्जु कुर्मी घाइते भएका छन् ।
घाइतेको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।