बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

गण्डकी एमालेको प्रतिबद्धता : सुरुङमार्गदेखि पुस्तकालय, ५ हजार गरिबलाई प्राविधिक शिक्षा निशुल्क

आइतबार, कार्तिक १३ २०७९

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) गण्डकी प्रदेश संगठन कमिटीले निर्वाचनका लागि प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।

गण्डकी एमालेले आइतबार आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको हो ।

‘सुशासन, समृद्धि र समाजवादको आधार, गण्डकी प्रदेशमा एमालेको सरकार’ नारासहितको एमालेले प्रतिवद्धता पत्रमा प्रदेशका मुख्य राजमार्ग र स्थानीय सडकको दुरी घटाउन सकिने खण्डमा छोटा दुरीका सुरुङमार्ग निर्माण गरिने उल्लेख छ ।

त्यस्तै, अन्नपुर्ण र मनास्लु संरक्षण क्षेत्रबाट प्राप्त हुने पर्यटन राजस्वको २५ प्रतिशत सम्बन्धित पालिकाहरुलाई र २५ प्रतिशत प्रदेश सरकारलाई प्राप्त हुने व्यवस्था गरिने जनाइएको छ ।

प्रदेशका सबै मुख्य पर्यटकीय गन्तब्यमा र होमस्टे भएका गाउँहरुमा पुग्न पुर्वाधारहरुको विकास गर्ने प्रतिवद्धतापत्रमा उल्लेख गरिएको छ ।लमजुङको घलेगाउँ र राइनास, गोरखाको भच्चेक–सिरानडाँडा, तनहुँकाे बन्दिपुर र मान्हुकोट, कास्कीको अस्ताम–धम्पुस,बेनासकोट,भीरकोट,स्याक्लुङकोटलगायतलाई प्रदेशका हिल स्टेशनको रुपमा विकास गरिने पनि एमालेको दाबी छ ।

यस्तै प्रदेशका ५ हजार गरिब तथा असहाय, अल्पसंख्यक र पिछडिएका वर्गका विद्यार्थीलाई प्राविधिक शिक्षा तथा व्यावसायीक तालिम दिएर रोजगारीमा जोड्ने एमाले गण्डकीको योजना छ ।

प्रादेशिक पुस्तकालयको रुपमा गण्डकी प्रदेश पुस्तकालय स्थापना गर्ने घोषणापत्रमा लेखिएको छ ।