काठमाडौँ : डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले आगामी निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । प्रतिबद्धतापत्र नाम दिइएको घोषणापत्रमा नेपाल समाजवादीले ‘सबैलाई लोकतन्त्र, सबैलाई समृद्धि’लाई मूल नाराको रुपमा अघि सारेको छ ।
आइतबार सावैजनिक गरेको चुनावी घोषणापत्रमा १२ वटा प्रतिबद्धता जनाइएको छ । जसमा नयाँ रोजगारी, स्थिर सरकार सुनिश्चित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारीलाई समेटिएको छ । यसैगरी भ्रष्टाचारलाई जरैबाट समाप्त गर्न जनलोकपाल र पूर्ण समानुपातिक निर्वाचन प्रणालीलाई पनि नेपाल समाजवादीले आफ्नो एजेण्डा प्रस्तुत गरेको छ ।
सस्तो र भरपर्दोे स्वास्थ्य सेवा, सरकारी विद्यालयबाटै प्रविधि र व्यावहारिक सीपयुक्त शिक्षा उपलब्ध गराउने उल्लेखख गरिएको घोषणापत्रमा हरियो, सफा र खुल्ला सहर बनाउने एजेण्डा सो पार्टीले समेटेको छ । सबैको राम्रो स्वास्थ्य, जनता केन्द्रित आर्थिक विकास, सबैलाई विश्वस्तरीय शिक्षा, व्यक्तिगत स्वतन्त्रता, भ्रष्टाचाररहित सरकार, चुस्त सेवा दिने सरकार, सामाजिक न्याय÷समानता र वातावरणमैत्री जीवनशैलीलाई मुख्य बुँदा समेटेर घोषणापत्र सार्वजनिक गरिएको छ ।
नेसपाले संविधान संशोधनलगायतका माध्यमबाट मुलुकको राजनीतिक र आर्थिक रूपान्तरण गर्न सकिने भन्दै घोषणापत्रमा संकल्प उल्लेख गरेको छ । माओवादी केन्द्रको चुनाव चिह्न ’हँसिया हथौडा’ लिएर चुनावी मैदानमा उत्रिएको नेसपाले संविधान संशोधनमार्फत प्रत्यक्ष निर्वाचित राष्ट्रपति र प्रदेश प्रमुखहरूको व्यवस्था गरिने उल्लेख गरेको छ ।
त्यसका लागि संविधान संशोधन गर्न सहमत राजनीतिक दलहरूलाई दुई तिहाइ मत दिन अपील गरिएको छ । राष्ट्रपति र प्रदेश प्रमुखमा निर्वाचित व्यक्ति दुई कार्यकालभन्दा बढी रहन नसक्ने व्यवस्था पनि गर्ने उल्लेख छ । राज्यपुनर्संरचना आयोगको प्रतिवेदनको आधारमा प्रदेशहरूको पुनर्संरचना गर्ने, स्थानीय तहहरूलाई बलियो र अधिकार सम्पन्न गर्ने नेसपाको घोषणापत्रमा उल्लेख छ ।
नेसपाले छिमेकी मित्रराष्ट्र तथा अन्य मुलुकहरूसँग भाइचाराको सम्बन्ध स्थापित गरी नेपाली वस्तु तथा सेवा बजारको दायरा बढाउने, उनीहरूको पुँजी र प्रविधिलाई नेपाल भित्र्याएर राष्ट्रिय औद्योगिक पुँजीवादको विकास गर्ने नीति लिनुपर्ने कुरा घोषणापत्रमा उल्लेख गरेको छ । त्यसका लागि ’प्रगतिशील राष्ट्रवादमा आधारित पूर्ण स्वाधीनता र स्वतन्त्रता हाम्रो आधारभूत लक्ष्य’ पार्टीले लिने भनिएको छ ।
त्यस क्रममा बाह्य हस्तक्षेप अमान्य, आत्मसमर्पणवादी प्रवृत्तिको विरोध, समानता र स्वतन्त्रताको पक्षधर, नयाँ विश्वदृष्टिकोण, पञ्चशीलको सिद्धान्तमा अडिग, अन्तर्राष्ट्रिय समुदायसँग भाइचारा सम्बन्ध, अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रति प्रतिबद्ध रहने परराष्ट्र नीति हुने र त्यसबाट राष्ट्रिय हित हुने नेसपाले घोषणापत्रमा लेखेको छ ।
नेसपाले मुलुकको आर्थिक विकासका लागि ’समतामूलक समृद्धि’को अवधारणा अगाडि सारेको छ । त्यसका लागि तीव्र आर्थिक वृद्धि, समन्यायिक वितरण, पर्यावरणीय दीगोपन र मानवीय खुसी हुनुपर्ने उल्लेख छ ।
यी हुन् डा. बाबुराम भट्टराईले गरेका १२ वाचा
१. सस्तो, भरपर्दो र सुधारितएको स्वास्थ्य सेवा सबैलाई ।
२. प्रविधि र व्यावहारिक सीपयुक्त शिक्षा सरकारी स्कूलमै ।
३. लगानीमैत्री वातावरणमा देशभित्रै नयाँ रोजगारी ।
४. स्थीर सरकार सुनिश्चित गर्न प्रत्यक्ष निर्वाचित कार्यकारी ।
५. भ्रष्टाचारलाई जरैबाट समाप्त गर्न पूर्ण समानुपातिक निर्वाचन ।
६. हरियो, सफा र खुल्ला शह् र
७. उद्यमीलाई देशभर प्रोत्साहन ।
८. व्यावसायीक कृषिलाई प्राथमिकता ।
९. भौतिक पूर्वाधारमा विषेश पहल ।
१०. सूचना प्रविधि र अनुसन्धानलाई उच्च प्राथमिकता ।
११. बिजुली नै प्रमुख उर्जा । र
१२. महिला सुरक्षाको ग्यारेन्टी ।