काठमाडौँ – बलात्कार आरोपमा पक्राउ परेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
यसअघि थपिएको चार दिनको म्याद सकिएपछि जिल्ला अदालत काठमाडौंले आइतबार पुनः दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
गत असोज २० पक्राउ परेका क्रिकेटर लामिछानेलाई २० गतेबाट गणना हुनेगरी गत असोज २४ गते ७ दिनका लागि म्याद थप गरिएको थियो । सो समय सकिएपछि असोज २७ गते पुनः थप ५ दिन अनुसन्धानका लागि समय उपलब्ध गराएको थियोे ।
दोस्रो पटक थपिएको समय पनि सकिएपछि कात्तिक २ गते थप चार दिनको म्याद अदालतले प्रहरीलाई दिएको थियो ।
गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई असोज २० गते प्रहरीले पक्राउ गरी गत सोमबार अदालतमा उपस्थित गराएको थियो ।
१७ वर्षकी किशोरीले बलात्कार अभियोग लगाएपछि अनुसन्धानका लागि सन्दीपलाई असोज २० गते नेपाल आएलगत्तै विमानस्थलबाट नै प्रहरीले पक्राउ परेको थियो । काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोपमा किशोरीले भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । सन्दीप त्यसबेला क्यारेबियन लिग क्रिकेट खेल्न गएका थिए ।
सन्दीपले किशोरीकै आग्रहमा उनलाई भेटेको तर बलात्कार नगरेको बताउँदै आएका छन् ।