झापा । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा एवं प्रदेश सभाको निर्वाचन अन्तर्गत नेपाली कांग्रेसबाट झापा क्षेत्र नम्बर ४ क प्रदेश समानुपातिकबाट भक्ति सिटौलाको नाम अधिक चर्चामा छ ।
पार्टी गतिविधिमा २०३६ सालदेखि सकृय रहेका सिटौलामा जनताको मतबाट पनि आफ्नो अब्बलता पुष्टि गर्न सक्ने क्षमता रहेको जिल्लाका नेताहरुले बताएका छन् ।
किशोर अवस्थादेखि नै राजनीतिमा सकृय नेता सिटौला आफैं पनि यस पटक समानुपातिकबाट स्थानीय जनताका समस्या र झापाको तल्लो क्षेत्रको प्रतिनिधित्व आवाज बुलन्द गर्ने मनसायमा छन् ।
जिल्ला तहका नेताहरुले समेत यस पटक क्षेत्रिय रुपमा चर्चित नेता सिटौलालाई समानुपातिकबाट भएपनि स्थानीय जनताको आवाज माथिसम्म पुर्याउने जिम्मेवारी दिनु पर्ने बताएका छन् ।
जिल्ला सदस्य तथा आदिवासी समुदायका अग्रज नेता सुकदेव ताजपुरियाले भने, ‘सधैं अरुका लागि ‘पुल’ बनेर काम गर्दै आउनु भएको भक्ति सिटौला यस पटक आफैं त्यस ठाउँमा पुग्नु पर्ने हामी सबैको इच्छा-चाहना छ ।’ त्यो अवसर पाए स्थानीय स्तरमा तल्लो बेल्डका जनताले दैनिक भोग्दै आएका समस्या समाधान हुने उनले बताए ।
प्रदेशभरिको योग्य व्यक्तिका रुपमा परिचित एवं लोकप्रिय नेता सिटौलाले २०३६ सालदेखि नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका हुन् ।
सरल, जुझारु, बौद्धिक, निडर, अनुशासित राजनीतिज्ञको छवि बनाएका सिटौला २०३८ सालमा नेविसंघको जिल्ला सदस्य, २०४१ सालमा नेविसंघको जिल्ला सचिव यसैगरी २०४१ सालमा मेची क्याम्पस इकाई सभापति र स्ववियु सचिव उम्मेद्वार बनेर विद्यार्थी फाँटमा सकृय भएका थिए। २०४२ सालको सत्याग्रहमा उनी जिल्लामा भएका आन्दोलनको अग्रमोर्चामा सकृय भूमिकामा थिए ।
२०४६ को संयुक्त जन आन्दोलनमा यस क्षेत्रबाट अगुवायी गर्नेमा उनी अग्रस्थानमा थिए। उक्त आन्दोलनमा उनी प्रहरी हिरासत र झापा कारागारमा थुनामा समेत परेका थिए ।
२०४८ सालको नेपाली कांग्रेसको कलबल्गुडी अधिबेशनदेखि हालसम्म लगातार ७ पटक महाधिवेशन प्रतिनिधि र ४ पटक महासमिति सदस्य भएर पार्टीको जिम्मेवारी सम्हाल्दै आएका नेता सिटौलाले दुई कार्य काल जिल्ला सचिवको जिम्मेवारी समेत निर्वाह गरिसकेका छन् ।
लोकतन्त्र र सामाजिक रुपान्तरणका लागि छदाखाँदाको स्थायी शिक्षण पेसा छाडेर पूर्ण समय पार्टी र समाज सेवा गर्दै राजनीतिमा क्रियाशिल नेता सिटौलासँग पार्टीको केन्द्र र जिल्लाले तोकेका धेरै जिम्मेवारी पूरा गरेको अनुभव छ । प्रष्ट र प्रखरवक्ताका रुपमा परिचित सामान्य किसान परिवारबाट कृयाशिल उनी जिल्लामा अत्यन्तै लोकप्रिय मानिन्छन् ।
पार्टी राजनीतिमा लामोसमय सकृय रहेका उनी लाभको पदमा नपुगेका नेतामा गनिन्छन् ।
सबै नेता कार्यकर्तालाई समन्वय गर्न सक्ने क्षमता भएका सिटौलामा स्वच्छ छवि एवं सरल व्यक्तित्व, जोसँग पनि सहजै मिल्न र घुलमिल हुनसक्ने स्वभाव छ । यस पटक यो अवसर पाए उनीमाथि न्याय हुने स्थानीय तथा जिल्ला तहका नेताहरुको राय छ ।