काठमाडौं । सत्तारूढ पाँच दलीय गठबन्धनमा आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको लागि सिट बाँडफाँट पेचिलो बन्दै गएको छ । दलहरू आआफ्नो अडानबाट पछि नहटेपछि सिट बाँडफाँटको लागि निरन्तर हुँदै आएको छलफल आइतबार पनि निष्कर्षविहीन बनो ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वको सिट बाँडफाँट कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल भए पनि सहमति जुट्न नसकेपछि बैठक सोमबारका लागि सारियो ।
प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसहित शीर्ष नेताहरूबीच दिनहुँजसो सिट बाँडफाँटबारे छलफल भएपनि निष्कर्षमा पुगेको छैन ।
सिट बाँडफाँटमा सहमति जुटाउन गठबन्धनका नेताहरूबीच केही दिनदेखि दिनहुँजसो छलफल भएको छ । बैठकपछि एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले भन्नुभयो, ‘गठबन्धनले सिट बाँडफाँटका लागि कार्यदल बनाएको थियो । अहिलेसम्म कार्यदलमा के(के भयो भन्नेबारे आइतबारको बैठकमा जानकारी भयो । कैयौँ कुरा मिलिसकेको छ, कैयौँ मिलाउन बाँकी छ । सिट बाँडफाँटमा ५० प्रतिशत कुरा मिलिसकेको छ । अझै पनि धेरै कुराहरू मिलाउन बाँकी छन् । त्यसबारे आइतबार सहमति हुन सकेन । सोमबार फेरि बैठक बस्ने र सिट बाँडफाँटलाई अन्तिम रूप दिने कुरा भएको छ ।’
प्रधानमन्त्री शेरबहादुर देउवासहित गठबन्धनका शीर्ष नेताहरू र कार्यदलबीच भएको छलफलमा अहिलेसम्म भएका सहमति र बाँकी रहेका विषयबारे ब्रिफिङ भएको थियो । गठबन्धनमा कार्यदलले करिब ९० सिटमा साझा समझदारी बनाए पनि बाँकी ७५ सिटमा दलहरूबीच विवाद छ । कृष्णप्रसाद सिटौला नेतृत्वको ११ सदस्यीय कार्यदलले एक महिना छलफल गरे पनि सिट बाँडफाँट टुंग्याउन नसकेर शीर्ष नेताहरूलाई जिम्मेवारी दिएको थियो । त्यसयता विवाद रहेका विषयमा शीर्ष नेताहरू सहमति गर्न छलफलमा जुटेका छन् ।
कार्यदलका सदस्यसमेत रहनुभएका जनता समाजवादी पार्टी ९जसपा०का नेता रामसहायप्रसाद यादवले बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनबारे समीक्षा भएको तर शीर्ष नेताको बीचमा कुरा नमिल्दा सोमबार फेरि छलफल गर्ने गरी बैठक टुंग्याइएको जानकारी दिनुभयो । नेता यादवका अनुसार मुख्यतः कसले कति सिट लिने भन्ने विषयमा नै कुरा मिल्न सकेको छैन ।
कुन दलले कति सिट लिने भन्नेमा नै सत्ता गठबन्धनमा कुरा नमिल्दा सिट बाँडफाँटको गाँठो फुक्न कठिन भएको हो । गठबन्धनमा रहेका दलले आफ्नो अडानमा केही लचकता देखाएको अवस्थामा सहमति जुट्न कठिन नभएको गठबन्धनका नेताहरूको दाबी छ । सिट बाँडफाँटमा नेकपा एकीकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीका कारण कुरा मिलाउन गाह्रो भइरहेको दाबी कार्यदलमा रहेका माओवादी केन्द्रका एक नेताको दाबी छ । विगतमा जितेको सिटभन्दा बढी सिटमा नेकपा एकीकृत समाजवादी र जसपाले दाबी गरिरहेका छन् । नेकपा एकीकृत समाजवादीले एमालेले जितेका सबै सिटमा दाबी गरेजस्तै जसपाले पनि तत्कालीन राजपा अहिलेको लोसपाले जितेको ठाउँमा दाबी गरिरहेको छ । दुई दलको दाबीका कारण पनि सिट बाँडफाँट टुंगोमा पुग्न नसकेको कार्यदलमै रहेका नेताहरूको जिकिर छ ।
कांग्रेसमा संस्थापनइतर समूह कांग्रेसले सय सिट नपाए विद्रोह हुने बताउँदै आएको छ । केन्द्रीय सदस्य डा। शेखर कोइरालाले कांग्रेसको गढमा गठबन्धनका नाममा अन्य दललाई टिकट दिए पार्टीमा विद्रोह हुने चेतावनी दिएका छन् ।