काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य अर्थ विभागका उपप्रमुख डा. बालकृष्ण चापागाईं नेकपा (एमाले) मा फर्किएका छन् ।
ओली निवास बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष विष्णु पौडेललगायतका नेताले आज चापागाईंलाई खादा लगाई पार्टीमा स्वागत गरे ।
रुपन्देहीको बुटवल निवासी चापागाईं पुराना पत्रकार समेत हुन्। उनी प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष समेत हुन् ।
चापागाईं गतबर्ष पार्टी विभाजनपछि नेकपा एकीकृत समाजवादीमा लागेका थिए । उनी एकीकृत समाजवादीबाट रुपन्देही जिल्लाको निवर्तमान सहइन्चार्ज थिए ।
एमालेमै फर्किएपछि डा. चापागाईंले नेपालको राजनीति एकातिर बामपन्थी, प्रगतिशील र अर्कोतर्फ दक्षिणपन्थी, पुँजीवादी गरी दुई ध्रुर्वमा विभाजित रहेको र बामपन्थी, प्रगतिशील धारको नेतृत्व एमाले र यसका अध्यक्ष केपी शर्मा ओलीले मात्र गर्नसक्ने भन्ने निष्कर्षका साथ आफू पुरानै पार्टीमा फर्किएको बताए ।
चापागाईँले पछिल्लो समय गतिहीन कम्युनिष्ट पार्टीमा बस्न आवश्यक नभएको भन्दै पार्टीभित्र असन्तुष्ट जनाउँदै आएका थिए ।