काठमाडौँ : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत, काठमाडौँले अनुमति दिएको छ।
लामिछोनेविरुद्ध एक नाबालिक किशोरीले बलात्कारको जाहेरी दिएकी छन्। त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको प्रहरी स्रोतले बताएको छ। प्रहरीले अदालतबाट अनुमति पाएसँगै अब प्रहरीले लामिछानेलाई कुनै पनि बेला पक्राउ गर्न सक्छ।
नाबालिकलाई बलात्कार गरेको भन्दै मंगलबार साँझ गौशाला प्रहरी वृत्तमा लामिछानेविरुद्ध जाहेरी दर्ता भएको थियो। उनीमाथि १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेको छ।
मंगलबार १७ वर्षीया ती किशोरीले प्रहरी वृत्त गौशालामा लामिछानेले होटलमा पुर्याएर आफूमाथि पटक-पटक बलात्कार गरेको भन्दै गौशाला प्रहरीमा जाहेरी दिएकी हुन्।
सन्दीप भने यतिबेला क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न सेन्ट लुसियामा छन्।
बलात्कार आरोपमा जाहेरी दर्ता भएसँगै प्रहरीले लामिछानेविरुद्धका प्रमाण संकलन गरिरहेको छ।
अनुसन्धानका क्रममा उनी बसेको भनिएको नगरकोट र काठमाडौँका होटलका सिसिटिभी फुटेज संकलन गरिएको प्रहरी परिसर काठमाडौँले बताएको छ। प्रहरीका अनुसार थप अनुसन्धान भइरहेको छ।