काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने बलात्कार आरोपको मुद्दामा कानुनी सहयोगका लागि क्यानसँग आग्रह गरेका छन् ।
क्यारेवियन प्रिमियर लिग खेल्न हाल वेस्ट इन्डिजमा रहेका सन्दीपले नेपाल क्रिकेट संघ (क्यान) सँगको कुराकानीमा बलात्कारको आरोप अस्वीकार गरेका हुन् ।
क्यानका कार्यबाहक प्रशिक्षक प्रशान्तविक्रम मल्लकाअनुसार सन्दीपले आफू यो आरोपको सामनाका लागि कानुनी लडाईं लड्न तयार भएको र त्यसका लागि क्यानले कानुनी पाटोमा सहयोग गरिदिन भनेको बताए ।
यसैबीच, क्यानले सन्दिपमाथि तत्काल कुनै एक्सन नलिने भएको छ । हिजो क्यानका पदाधिकारीहरुबीच भएको अनौपचारिक कुराकानीमा अहिले पर्ख र हेरको रणनीति लिने समझदारी भएको हो ।
यस्तै सन्दीप सीपीएलको खेलेर मात्र फर्कने भएका छन् ।
सन्दीपमाथि एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोप लागेको हो । किशोरीले ०७९ भदौ ५ गते राति जबरजस्ती करणी गरेको आरोप लगाउँदै मंगलबार प्रहरी वृत्त, गौशालामा जाहेरी दिएकी छन् ।
लामिछाने गत ६ भदौमा टी २० सिरिज खेल्नका लागि केन्या गएका थिए त्यहींबाट उनी वेस्ट इन्डिजको क्यारेबियन प्रिमियर लिग खेल्न गएका छन् ।