बुधबार, कार्तिक १८ २०८३

बुधबार, कार्तिक १८ २०८३

मन्त्री जीवनराम निगमको जीवन नष्ट पार्दै

बुधबार, भाद्र २२ २०७९

जहाज ग्राउण्डेड भएपछि अन्तर्राष्ट्रिय उडान ठप्प !

काठमाडौँ – नेपाल वायुसेवा निगमको उन्नति र प्रगतिका लागि गठबन्धन सरकारले नै असहयोग गर्दै आएको कर्मचारीहरुको गुनासो रहेको छ । विगत लामो समयदेखि सरकारमा रहेका व्यक्तिहरु निजी हवाई कम्पनीको प्रभावमा परेर निगमलाई आर्थिक रुपमा डुबाउने खेलमा लागेको प्रशस्त उदाहरण रहेका छन् । त्यसैले गर्दा निगममा आउने हरेक नेतृत्वले सक्षमतापूर्वक काम गर्न खोज्दा पनि सरकारी संयन्त्रको असहयोग रहने गरेको छ । अहिले पनि यस्तै भएको छ । 

निगम स्रोतका अनुसार, A-320, 9N-AKW विमानको बायाँ इन्जिन S/N V17584 मा कतारस्थित दोहा एयरपोर्टमा  समस्या आएको थियो । उक्त इन्जिनको विषयमा पर्यटन मन्त्रालयका सरकारी अधिकारीको हर्कतले निगमलाई डुबाउने खेल केसम्म हुन्छ भन्ने पुष्टि गर्छ । 

यो इन्जिन कतार एयरवेजको प्राविधिकहरुले विभिन्न चरणको जाँचबाट इन्जिनमा खराबी देखिएको रिपोर्ट दिएपछि इन्जिन बिग्रिएको प्रारम्भिक जानकारी भएको थियो ।  त्यसपछि निगमका प्राविधिकहरु जहाज निर्माता कम्पनी एयर वस र इन्जिन निर्माता कम्पनी Pratt & Whitney सहितका IAE बाट बिग्रिएको प्रमाणित भएपछि ग्लोबल टेण्डर आव्हान गरी बनाउने प्रक्रिया सुरु गरियो । तत्पश्चात ग्लोबल टेण्डर गरी इजरायलको IAI मा मर्मत भई मर्मत सम्भार सकिएर परीक्षणसमेत भइससकेको छ । र, निगमले उक्त इन्जिन लिन जानुपर्ने बेला भइसकेको थियो । मर्मत सम्भार गर्ने कम्पनीले लिन आउन सूचितसमेत गरिसकेको छ । तर, निगमलाई लिन जानका लागि सरकारी अधिकारीहरुले अवरोध गरिरहेको कर्मचारी स्रोत बताउछ । जसले गर्दा कमाउने सिजनमा एनएसीका जहाज ग्राउण्डेड भइरहने स्थिति देखिएको छ । 

अर्कोतिर, निगमकै A-320, 9N-AKW विमानकै अर्को इन्जिन S/N V17585 नियमानुसार नियमित चेक÷जाँच सुरुमा २ हजार ४ सय घण्टामा र पछि ६ सय घण्टामा Manual अनुसार चेक÷जाँच भइरहँदा २८ जुलाई २०२२ को परीक्षणमा खराबी देखिई १० साइकल मात्र उडाउन मिल्ने रिपोर्ट आएको थियो । 

उक्त रिपोर्ट आएपछि एयरवस कम्पनी तथा इन्जिन निर्माता कम्पनीले उक्त रिपोर्ट अनुसार १० साइकल भन्दा कम मात्र उडाउन मिल्ने र बनाउनैपर्ने सल्लाह पनि दिइएको थियो । सोही अनुसार ६ साइकल व्यवसायिक उडान गरी ३१ जुलाई २०२२ देखि ग्राउण्डेड अवस्थामा रहेको छ । ग्राउण्डेड गर्नुको कारण ३ साइकल उडान बनाउने ठाउँसम्म लैजानको लागि राखिएको हो । 

स्रोतका अनुसार, अघिल्लो इन्जिन दोहामा बिग्रेपछि टेण्डरकै माध्यमबाट भाडामा लिइएको र सो इन्जिन हालसम्म निगमसँगै रहेको छ । इजरालयमा बनिसकेको इन्जिन र भाडामा लिएको इन्जिन नै केही समय राखेर निगमको जहाज A-320, 9N-AKW उडाउनुको विकल्प छैन । तर, भाडामा लिएको इन्जिनको समयावधि थप्न सञ्चालक समितिको स्वीकृति चाहिनेमा मन्त्रालयका प्रतिनिधि होमप्रसाद लुईटेलको अगुवाईमा भाडामा लिएको इन्जिनको म्याद थप रोकिएको छ ।

त्यसैले ग्राउण्डेड जहाज उडाएर सेवामा ल्याउनु पर्नेमा सेवामा आउन नसकेको निगम स्रोत बताउछ । लुईटेल पर्यटन मन्त्री जीवनराम श्रेष्ठको निकट भएर काम गरिरहेको बताइन्छ । लुईटेल अहिले पर्यटन विभागको महानिर्देशक भएका छन् तर पनि उनी निगमको सञ्चालक समितिको सदस्यको रुपमा काम गरिरहेका छन् । 

तीन साइकल मात्र बाँकी रहेको इन्जिन निकाली आफ्नो बनेको इन्जिन जहाजमा हाल्नु र भाडामा लिएको इन्जिनलाई पछिल्लो पटक बिग्रेको इन्जिन नबनुन्जेलसम्म भाडामा नै निरन्तरता दिएर यथाशक्य चाँडो जहाज उडाउनुपर्छ भनी निगमको इन्जिनियरिङ विभागको प्राविधिक टोली र व्यवस्थापनले दिएको प्रस्तावलाई मन्त्रीजीवन राम श्रेष्ठको आदेश भनी मन्त्रालयको बोर्ड प्रतिनिधि होम लुईंटेलले रोकेर राखेको अवस्थामा रहेको छ । अनि उल्टै निगम व्यवस्थापकले जहाज उडाएन भनेर अनर्गल आरोप लगाई चुनावको मुखमा नेतृत्व परिवर्तन गर्न मन्त्री लागिपरेको स्रोत  बताउछन् । 

दोस्रो बिग्रिएको इन्जिन मर्मत गर्न पनि व्यवस्थापनले आवश्यक पूर्वाधारका कार्यहरु गरिसकेको साथै टेण्डरका लागि आवश्यक कागजात पनि तयार गरीसकेको छ । व्यवस्थापनले टेण्डर आव्हान गर्दा ४५ दिनको ग्लोबल टेण्डर गर्नुपर्ने व्यवस्था रहेको छ । तर, सञ्चालक समितिले ७ वा १५ दिनको समय दिएर टेण्डर आव्हान गर्न सकिन्छ र बनिसकेको इन्जिन कहाँ फेर्ने÷कहाँ फेर्दा छिटो छरितो र कम खर्च लाग्छ जसको निर्णय सञ्चालक समितिले गरेको छैन । किनकि खराबी देखिएको इन्जिन यो ठाउँमा छ भनेर टेण्डर गर्नलाई त्यो खराबी देखिएको इन्जिनको झिकिएको ठाउँ स्पष्ट राखिनुपर्ने व्यवस्था रहेको छ । 

यसरी इन्जिन कहाँ फेर्ने र भाडामा लिएको इन्जिनको म्याद थप गर्ने विषयमा सञ्चालक समितिले निर्णय नगरी ग्राउण्डेड जहाज उड्ने अवस्थाको सत्यतथ्य कुरा ढाकछोप गरेर निगमका कार्यकारी अध्यक्षले जहाज बनाएन÷उडाएनन् भन्नु सूर्यलाई हत्केलाले छेक्नुजस्तै भएको टिप्पणी कर्मचारीहरुको रहेको छ । 

चाडपर्वको समय नजिकिंदै आइसकेको यस्तो समयमा सञ्चालक समितिले आफैं अग्रसर भई निर्णयमा सहयोग गरेर जहाज उडाउनुपर्नेमा ६÷७ वटा सञ्चालक समितिको बैठकमा अनुपस्थित रहेका पर्यटन मन्त्रालयका प्रतिनिधि एक्कासी २०७९÷०५÷०६ को सञ्चालक समितिको बैठकमा भने देखा परेका थिए । र, मन्त्री श्रेष्ठले दिउँसो कार्यकारी अध्यक्षलाई स्पष्टीकरण लिनु भन्ने आदेश छ भनी नियमित काम गर्नसमेत व्यवस्थापकलाई अवरोध पु¥याइएका थिए ।

त्यस्तै, इन्जिन मर्मत एवम् भाडामा लिइएको इन्जिनमा कतै कमजोरी र बदमाशी छ भने छानबिन तथा कारवाही गरे हुन्छ तर जहाज चाहिं ग्राउण्डेड नगरौं भन्ने इन्जिनियरिङको प्राविधिक टोली र व्यवस्थापनको मागको मन्त्रालयले सुनवाई गरेको छैन । जहाज ग्राउण्डेड गरिराख्नमा मन्त्रालय नै उद्यत हुनुले निगम घाटामा गए जाओस् तर यसको नेतृत्वलाई दोष थोपारेर निकाल्ने र नयाँ नेतृत्व ल्याउँदा चुनावको मुखमा चुनाव खर्च जोड्न सकिन्छ भन्ने दुराशय रहेको टिप्पणी पनि मन्त्रालयमा हुन थालेको छ । अर्कोतिर, कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्वन र निकाल्ने विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा नै छ । 

एउटा जहाजमा दुईवटा इन्जिन लाग्छ । निगमसँग बनेको एउटा इन्जिन इजरायलमा छ र जहाजमा बनेको इन्जिन ल्याउन ३ साइकल उड्नसक्ने एउटा इन्जिन र अर्को भाडामा लिएको इन्जिन छ । यस अवस्थामा ३ साइकल मात्र बाँकी रहेको इन्जिन र भाडामा लिएको इन्जिनले जहाज लिएर गई बनेको इन्जिन जहाजमा राखेर भाडामा लिएको इन्जिनको भाडा अवधि थपेर जहाज उडाउनुको विकल्प नभएको अवस्थालाई बुझेर पनि मन्त्रालयमा कार्यकारी अध्यक्ष बाहेकका सदस्यहरुलाई बोलाई मन्त्रीले नै भाडामा ल्याएको इन्जिनको म्याद नथप्नु, इन्जिन फेर्न बिग्रिएको इन्जिन नबनाउनु भन्ने आदेश भए अनुसार निगमको एउटा A-320 जहाज ग्राउण्डेड अवस्थामा रहेको छ । तर, यसको दोषारोपण कार्यकारी अध्यक्ष अधिकारीमाथि लगाईको छ । 

विगतमा मिति २०७८/०८/२३ बाट पर्यटन मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक सदस्य होमनाथ लुईटेल ९ वटामध्ये ७ वटा बैठकमामा अनुपस्थित भएर असहयोग गरेका थिए । एक्कासी २०७९/०५/०६ को बैठकमा उपस्थित भएर ऐन, कानूनमा व्यवस्था नभएको जान्दाजान्दै कार्यकारी अध्यक्ष अधिकारीलाई मन्त्रीको आदेश छ भनी विभिन्न प्रकारका लान्छानाहरु लगाई स्पष्टीकरण भनि बोर्डबाट निर्णय गराएका थिए । ती लान्छानाहरुलाई कार्यकारी अध्यक्ष अधिकारीले बोर्ड सदस्यरुलाई स्पष्टीकरण लिने अधिकार नभएको तर व्यवस्थापनसँग जानकारी माग्ने अधिकार भएको भनी मिति २०७९/०५/१२ मा नै जवाफ पनि दिइसकेका छन् । 

सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा बोर्ड प्रतिनिधिहरु प्रयोग गरी कार्यकारी अध्यक्षलाई पर्यटन मन्त्रीले एकातिर कामै गर्न नदिएको बताइन्छ । अर्कोतिर कार्यकारी अध्यक्षले काम नगरेको आरोप लगाई चुनावको मुखमा नेतृत्व फेर्न कसरतमा लागेको बुझिएको छ । स्मरण रहोस, सरुवा, बढुवा, पोष्टिङ नगर्नु तथा कार्यसम्पादन मूल्यांकनको काम समेत नगर्नु÷नगराउनु भनी मन्त्रीस्तरीय निर्णय गरेर कार्यकारी अध्यक्ष अधिकारीलाई काम गर्न नदिएको अवस्थामा कार्यकारी अध्यक्ष सर्वोच्च अदालतको शरणमा गएपछि सर्वोच्चले पर्यटन मन्त्रीलाई अदालतको अन्तरिम आदेश विपरीत काम नगर्नु नगराउनु र अदालतमा आफैं उपस्थित भएर अदालतको मानहानीमा जवाफ दिनु भन्ने आदेश जारी भएको थियो र मन्त्रीस्तरीय निर्णय गरी पठाइएका दुई पत्रहरु खारेज गरेको थियो ।

अनलाईन टिकेटिङ

मन्त्री श्रेष्ठ आउनु केही महिना पहिले नै निगममा अनलाईन टिकेटिङको काम सुरु भएको थियो । र,  विभिन्न प्रक्रियागत चरणहरु पार गरी कार्यान्वयनको अन्तिम अवस्थामा पुगेको छ । आफूले दबाब दिएर काम गर्न भनेर पनि नगरेको भन्नु पार्टी र पर्यटन क्षेत्रलाई गुमराहमा राख्ने प्रयास हो भन्ने बुझिन्छ ।

खासमा निगमसँग पुरानो SITA PSS ले दुईवर्ष आफ्नै सूचना दिएर PSS System बाट अलग हुने भएपछि पहिलो टेण्डरमा नै PSS भित्रै अनलाइन टिकेटिङ पनि परेको थियो । त्यसको सययसीमा १५ मार्च २०२२ भित्र PSS नयाँमा सारिसक्नुपर्ने USD को निर्णय र सो नगरे ३० दिनको ३ मिलियन ग्क्म्  तिनुपर्ने सूचना आएपछि नयाँ व्यवस्थापनले दोस्रो टेण्डर गर्दा पहिलो टेण्डरको सम्पूर्ण मुख्य बुँदाहरु समेटी दोस्रो टेण्डर गरी २४ मार्च २०२२ मा Supply & Service या Airlines Host System along with its related Services including Revenue Accounting System उपलव्ध गराउने गरी नयाँ PSS कम्पनीसँग सम्झौता गरेको थियो ।

सोही सम्झौता अनुरुप अनलाईन टिकेटिङको काम पनि परीक्षण अवस्था सकिएको छ । अनलाईन टिकेटिङको लागि पेमेन्ट गेटवे आवश्यक पर्ने र जसको लागि निगमले पहिले नै सम्झौता गरेको कम्पनी 2S2P बाट निगमलाई दिनुपर्ने बैंक जमानत प्राप्त हुनसाथ IBE Go Live भई संसारको कुनैपनि कुनाबाट निगमको टिकट खरिद गर्नसक्ने अवस्था रहेको छ । 2S2P ले नेपालको हिमालय बैंकमार्फत काउन्टर बैंक ग्यारेन्टीको प्रावधान गरिरहेको छ । सम्पूर्ण काम सकिएर परिणाम निस्कनै लागेको अवस्थामा दबाब दिएझै गरेर मैले गराएँ भन्नु र भइसकेको कामको ढाकछोप गरेर कार्यकारी अध्यक्ष अधिकारीलाई दोषारोपण गरी पार्टी एवम् पर्यटन क्षेत्र र जनमानसलाई पर्यटन मन्त्रीले भ्रम छर्न खोजेको निगमका कर्मचारीहरु बताउछन् ।

अझ प्रष्ट हुनुपर्ने कुरा यो छ कि निगमसँग रहेको पुरानो SITA PSS मा अनलाइन टिकेटिङ व्यवस्था रहेकोमा कोभिड १९ को कारणले तत्कालीन अवस्थामा निगमको वाणिज्य विभागले प्राविधिक कारण उक्त अनलाईन टिकेटिङ स्थगत गरिएको थियो । सबै विषयहरुमा मन्त्रालयमा पटक÷पटक जानकारी गराइएको पनि निगम स्रोतको भनाइ छ । साँघु साप्ताहिकबाट