३४ किलो सुन तस्करीमा ८ जना मालिकहरु संलग्न भएको खुलेको छ । नेपालमा बसेर कारोवार गर्ने चार जना र दुबईमा बस्ने चारजनाको लगानीमा ३४ किलो सुन भित्रिएको सीआइबीको अनुसन्धानबाट खुलेको छ ।
८ जना कारोवारीमध्ये दुईजना भारतीय सुन व्यापारी भएको खुलेको छ । सीआइबी स्रोतका अनुसार सालिमार ज्वेलर्सका सञ्चालक रामकृष्ण गोयल र नेपालमै बसेर सुन व्यवसाय सञ्चालन गरिरहेका भारतीय नागरिक अमोल विभूतिको लगानी भेटिएको छ । पक्राउ परेका उनीहरु बाहेक अन्य ६ जना नेपाली कारोवारीहरु हुन् ।
हुण्डी कारोवार र सुनको धन्दा एक साथ चलाइरहेका तस्करहरुले आफनो व्यवसायको भुक्तानी नै सुनबाट गर्ने गरेको खुलेको छ । ‘सुन तस्करीमा संलग्नहरु सबै आफ्नो व्यापार पनि चलाउँछन्, त्यस्तो व्यापारका लागि विशेष गरी भारतबाट ल्याइएको सामानको भुक्तानी नै सुनबाट गर्ने गरेको भेटिएका छन्’ सीआइबीका एक इन्स्पेक्टरले भने ।
तस्करीको बाटोबाट आएको सबै सुन नेपालमा मात्रै खपत नहुने भएकाले त्यो सुन भारत पुग्ने गरेको हो । भारत पुर्याइने सुन काठमाडौंका व्यापारीहरुले व्यवसायिक भुक्तानीका रुपमा बुझाउने गरेको प्रहरीको भनाइ छ । अनुसन्धान अधिकृत भन्छन् ‘दुवईबाट सुन पठाउने मुख्य मालिकले मात्रै नगदमा भुक्तानी लिने गर्दा रहेछन्, त्यसका लागि आवश्यक पैसा दुबईमा संकलन हुन्छ । भारतीय नागरिकसँग हुने कारोवारको भुक्तानी चाँही सुनबाटै गर्ने यिनीहरुको चेन देखिन्छ ।’
दुबईमा बसेका नेपालीहरुको पैसा संकलन गर्ने र त्यही पैसाले उतै सुन खरिद गरेर उनीहरुको पैसा हुण्डीमार्फत नेपाल पठाइदिने गरेको खुलेको छ ।