बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

राष्ट्रपतिलाई कांग्रेस नेताको प्रस्टीकरण– ओली सरकारले ल्याएको अध्यादेश र नागरिकता विधेयक हुबहु छ

सोमबार, भाद्र १३ २०७९

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवासहित नेपाली कांग्रेसका नेताहरुसँग नागरिकता विधेयकका विषयमा चासो राखेकी छन् । सोमबार दिउँसो कांग्रेस नेताहरुसँग शीतलनिवासमा भेट गरेकी उनले नागरिकता विधेयकका विषयमा चासो राखेकाे भेटमा सहभागी एक नेताले जानकारी दिए ।

प्रतिनिधिसभा र राष्ट्रिय सभाले पारित गरेको नागरिकता विधेयक हालै राष्ट्रपति भण्डारीले फिर्ता पठाएकी थिइन् । उक्त विधेयकलाई प्रतिनिधिसभाले हुबहु पारित गरिसकेको छ भने हाल राष्ट्रिय सभाको विधायन समितिमा छ ।

‘नागरिकताको बारेमा उहाँका केही जिज्ञासाहरु थिए । प्रधानमन्त्रीले पूर्व सरकारले ल्याएको अध्यादेश अनुसार नै विधेयक ल्याएको प्रष्ट पार्नुभयो’ राष्ट्रपतिसँगको भेटमा सहभागी एक नेताले भने ।

राष्ट्रपति भण्डारीले चुनावका बारेमा पनि चासो राखेकी थिइन् । ‘निष्पक्ष चुनाव होस् भन्ने राष्ट्रपतिको सदीक्षा थियो’ उनले भने ।

राष्ट्रपतिसँगको भेटमा कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवा, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा र सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी थिए ।