काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर सामान्यदेखि पूर्ण बदली रही चार प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ ।
आज बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
भारी वर्षाको सम्भावना रहेका उक्त प्रदेशका भूभागमा भूक्षय, पहिरो तथा गेग्रानको जोखिम रहनुका साथै नदीनाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने र दैनिक जनजीवन तथा यातायात क्षेत्रसमेत प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोधसमेत गरेको छ ।