काठमाडौ । आज पितृसम्मान दिवस अर्थात् बुबाको मुख हेर्ने दिन । यस पर्वमा छोराछोरीहरू परम्पराअनुसार आण्आफ्ना बाबुलाई मनपर्ने मिठाइ तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने दिन हो ।
बाबु नहुनेहरू विभिन्न पवित्र स्थानमा गई आफ्ना बाबुको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिन्छन् । ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यसदिन छोराछोरीले आफ्ना बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बाबु परलोक भइसकेकाले तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुल स्थिर हुने धार्मिक मान्यता रही आएको छ ।
यस्तै, आजको दिन थोरै दान गरे पनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ । राजधानीको पूर्वोत्तर भागमा पर्ने गोकर्णेश्वर मन्दिरमा आज मेला लागेको छ । कुशे औँसीका दिन गोकर्णेश्वरमा हरेक वर्ष ठूलो मेला लाग्छ ।
भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याउने गरिन्छ । पितृ आमावस्या अथवा गोकर्णे औंसीको दिनलाई कुशे औंसी पनि भनिन्छ । यसै दिन ब्राह्मण पुरोहितका हातबाट नयाँ कुश ग्रहण गरी त्यसैले वर्षदिन भरको देव पितृ कार्यहरू सम्पन्न गरिन्छन् ।
त्यस दिनबाहेक ब्राह्मणहरूले अरू दिन कुश काट्दैनन् । कुश भनेको एक प्रकारको धार्मिक दृष्टिबाट पवित्र घाँस हो । कुश उत्पत्तिबारे
विभिन्न धार्मिकशास्त्रमा आ–आफ्नो किसिमको मतभेद पाइन्छ । कुशको महिमालाई श्रीमद्भागवत् गीता, गरुड पुराण, अथर्व वेद र विष्णु पुराणमा समेत वर्णित छ । सनातन धर्मका हरेक पूजाआजा अनि कर्मकाण्डहरूमा यो एउटा अत्यावश्यक वनस्पति हो ।