बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

बीमा समितीको नीति : संख्या धेरै भएको भन्दै एकातिर मर्जरको लागि दवाव अर्कोतिर नयाँलाई लाईसेन्स

शुक्रबार, भाद्र १० २०७९

काठमाडौं – बीमा कम्पनीहरुको नियमनकारी निकाय बीमा समितीले आफ्नै नीति बिपरित नयाँ बीमा कम्पनीहरुलाई लाईसेन्स दिने प्रकृया सुरु गरेको छ । बीमा कम्पनीहरुको संख्या धेरै भएको भन्दै मर्जरको लागि चुक्ता पुंजी बृद्धि मार्फत नीतिगत दवाव दिएको बीमा समितीले अर्कोतिर आफ्नै नीति विपरित थप नयाँ बीमा कम्पनीहरुलाई सञ्चालनको लागि अनुमती दिने प्रकृया सुरु गरेको छ । 

समितीले यसको लागि भदौ १० गते अर्थात आज शुक्रबार सार्वजनिक सुचना जारी गर्दे इच्छुक व्यक्ति तथा संस्थाहरुसंग नयाँ लघुबिमा कम्पनी खोल्नको लागि प्रस्ताव माग गरेको छ । समितीले थप सात वटा नयाँ लघुबिमा कम्पनी सञ्चालन गर्नको लागि प्रस्ताव मागेको हो । प्रस्तावित नयाँ लघुबिमा कम्पनीहरुको चुक्ता पुंजी ७५ करोड रुपैंयाँ हुनुपर्ने छ भने कर्पोरेट कार्यालय काठमाडौं उपत्यका बाहिर हुने छ । न्युन आय भएका तथा लक्षित बर्र्गका जनतामा बीमाको पहुंच पुर्याई बीमाको बिकास र बिस्तार गर्नको लागि आर्थिक बर्ष २०७९–०८० को बजेटको बुंदा ३२७ अनुसार लघुबिमा कम्पनीहरु सञ्चालनको लागि प्रस्ताव माग गरिएको समितीको भनाई छ । नयाँ बीमा कम्पनीहरु सञ्चालन गर्नको लागि प्रस्ताव पेस गर्ने व्यक्ति तथा संस्थाहरुको कुनै पनि किसिमको कालोसुचीमा नपरेको हुनुपर्ने प्रावधान तोकिएका छन् । 

हाल नेपाली बीमा क्षेत्रमा १९ वटा जीवन बीमा, १९ वटा निर्जिवन बीमा र दुई वटा पुर्नबीमा सहितका ४० वटा बीमा कम्पनीहरु रहेकोमा समितिले थप सात वटा लघुबिमा कम्पनीहरुलाई सञ्चालनको लागि अनुमती दिएपश्चात नेपालमा कुल बीमा कम्पनीहरुको संख्या ४७ वटा पुग्ने छ ।