बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, यस्तो छ कार्यसूची

शुक्रबार, भाद्र १० २०७९

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठक आज बस्दै छ । 

ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बिहान ११ बजे बैठक बस्न लागेको हो । एमाले  प्रचार तथा प्रकाशन विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बैठकमा विभिन्न ११ कार्यसूची रहेका छन् । बैठक दुईसम्म चल्ने छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय कमिटी सदस्यहरुको शपथ र कार्यविभाजन, सचिवालयका निर्णय अनुमोदन, निर्वाचनमा उम्मेदवारको छनोट प्रक्रियाको मापदण्ड, स्थानीय निर्वाचन छानविन कमिटीको प्रतिवेदनलगायत पेश गर्ने कार्यसूची रहेको रिजालले जानकारी दिए। 

यस्तै  सदस्यता अभिलेख व्यवस्थापन, सल्लाहकार परिषद् र तीनै आयोगका प्रतिवेदन,  भारत प्रवासको कामका सम्बन्धमा नियमावली, पार्टी कामसँग सम्बन्धित केही नियम निर्माण र समसामयिक प्रस्ताव रहेका छन् ।

आगामी ४ मंसीरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको योजना, चुनावी घोषणा पत्रको तयारी, उम्मेदवार छनौटको मापदण्ड, स्थानीय तह निर्वाचनको क्रममा प्राप्त उजुरीका बारेमा निर्णय लिनेलगायतका अजेन्डामा छलफल गर्नका लागि आजवाट केन्द्रीय समिति बैठक सुरु हुन लागेको हो । 

 स्थानीय निर्वाचनपछि एमालेको केन्द्रीय कमिटी बैठक पहिलो पटक बस्न लागेको हो । 

यही भदौ ७ गते स्थायी र भदौ ९ गते पोलिटव्यूरो बैठक बसिसकेको छ । ती दुवै बैठकमा नेताहरूले पार्टी अध्यक्ष ओलीले केन्द्रीय कमिटीमा पेश गर्ने राजनीतिक प्रतिवेदनमाथि सुझाव दिएका थिए ।