काठमाडौं । आफ्नो हात जगन्नाथ भने झैं यति बेला सत्ताको नेतृत्व गरेको दल नेपाली कांग्रेसका नेताहरुलाई मोजमस्ती चलिरहेको छ ।
नेपाली महिलाको तीज पर्व सत्तारुढ दलका नेतृहरुले सरकारी खर्चमा धुमधाम सम्म दर खाएर मनाएको खुलेको छ । प्रथम महिला र सरकारका मन्त्रीसहित तारे होटलमा कांग्रेस नेतृहरुलाई सरकारी खर्चमा राम्रै तीजपाटी गरेका छन् ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले कुपण्डोलस्थित चारतारे हिमालय होटलमा तीजको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम राखेको थियो । यसको चाँजोपाँजो महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले मिलाएकी थिइन् ।
उनी कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिकी सदस्य समेत हुन् । कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ र पूर्व कोषाध्यक्ष चित्रलेखा यादवसमेत उपस्थित कार्यक्रमको प्रमुख अतिथि भने कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणा देउवा थिइन् ।

उनलाई ‘प्रथम महिला’ को हैसियतमा कार्यक्रमको प्रमुख अतिथि बनाइएको आयोजकको भनाई छ ।
कार्यक्रममा भूमिसुधार मन्त्री एवं माओवादी नेतृ शशी श्रेष्ठ र केही कर्मचारी बाहेक अरु थिएनन् । सहभागीहरुले छोटो औपचारिक कार्यक्रमपश्चात ‘दर’ खाएका थिए भने नाँचगानमा मन्त्री रेग्मीसहितका नेतृहरु सरिक भएका थिए ।
गायिका राधिका हमालले सांगितिक प्रस्तुति दिएको कार्यक्रममा कांग्रेसका १ सय बढी महिला नेतृ एवं कार्यकर्ता उपस्थित थिए । मन्त्रालयका एक कर्मचारीका अनुसार मन्त्रालयले आफ्नै खर्चमा तीजको कार्यक्रम राखेको थियो ।