बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

सरकारलाई बहुमतको घमण्ड चढेको छ, यस्ताको हातमा देश चल्दैन : अध्यक्ष ओली

बिहिबार, भाद्र २ २०७९

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिले संसदमा फिर्ता पठाएको नागरिकता विधेयकलाई जस्ताको तस्तै फिर्ता पठाउने सत्तारुढ गठबन्धनको निर्णयप्रति आपत्ति जनाएका छन् ।

अध्यक्ष ओलीले संसदले एक पटक विचार गरोस् भनेर राष्ट्रपतिले पठाएको सो गम्भिर महत्वको विधेयकलाई संसद बाहिरै बसेर सत्तारुढ गठबन्धनले सो निर्णय गरेको भन्दै आक्रोश समेत व्यक्त गरे ।

बुधबार ललितपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले संसदमा सो विधेयकको विषयमा बहस समेत गर्न नदिएर सत्तारुढ गठबन्धनले ‘आफूलाई खोपडी नभएको मसले’को रुपमा प्रस्तुत गरेको जिकीर समेत गरे ।

संसदीय अभ्यासको समेत ख्यालै नगरी सत्तारुढ गठबन्धनले आफ्नो बहुमतको तागत देखाईदिने भन्दै सो विधेयक राष्ट्रपतिलाई जस्ताको तस्तै फिर्ता पठाउने निर्णय गरेको अध्यक्ष ओलीको भनाई थियो । सत्तारुढ गठबन्धनको सो निर्णयमा बहुमतको घमण्ड चढेको उल्लेख गर्दै उनले त्यस्ताहरुको हातमा देश चल्न नसक्ने बताए ।

अध्यक्ष ओलीले भने, ‘नागरिकता विधेयक राष्ट्रपतिले संसदमा एकपटक विचार गरोस्, कमीकमजोरी नरहोस् । यो धेरै गम्भिर महत्वको प्रश्न हो भनेर फिर्ता पठाउनु भएछ । संसदमा होइन बाहिर बसेर राष्ट्रपतिले फिर्ता पठाउनु भएपछि पाखुरी छामेर राष्ट्रपतिले फिर्ता पठाउने रु जस्ताको तस्तै फिर्ता पठाउने । हिजो निर्णय गरे । संसदमा छलफल हुनै बाँकी छ । के छलफल हुन्छ अव । पाखुरेहरुले पाखुराको भाषा बोलिसके हिजै–जस्ताको तस्तै पठाईदिने  ?’

अध्यक्ष ओलीले काँग्रेस लोकतान्त्रिक पार्टी नरहेको दावी समेत गरे । प्रचण्डको कार्यकर्ता बनेर हिँडीरहेको काँग्रेस आचरण, नीति र व्यवहार सबै हिसावले लोकतान्त्रिक हुनै नसक्ने उनको तर्क थियो । ओलीले विगतमा पनि काँग्रेसले देशविरोधी कार्य गर्दै आएको र पछिल्लो समय यसले लोकतान्त्रिक आचरण र व्यवहार समेत गुमाएको आरोप लगाए । उनले माओवादी केन्द्र पार्टी नभई प्रचण्ड एण्ड कम्पनी भएकाले त्यसको बारेमा टिप्पणी गरिरहन आवश्यक नै नरहेको बताए ।

अध्यक्ष ओलीले भने, ‘काँग्रेस अव कहीँकतै लोकतान्त्रिक पार्टी रहेन । काँग्रेसले लोकतान्त्रिक पार्टी हुँ भन्न अब बेकार छ । काँग्रेस प्रचण्डको कार्यकर्ता हो । अब अरु पार्टीहरुको चर्चा नगरौं । काँग्रेसमा लोकतान्त्रिक आचरण, नीति, सिद्धान्त, व्यवहार केही पनि रहेन । इतिहासमा पनि काँग्रेसले पटकपटक अलोकतान्त्रिक क्रियाकलाप गरेर आएको पार्टी हो । देश हितका विरुद्ध अनेक क्रियाकलाप गरेर आएको पार्टी हो । त्यो काँग्रेस सुध्रियला कि । अनुभवबाट सिक्ला कि भनेको । झनझन काँग्रेस बिग्रदै गएको छ । माओवादी पार्टी भने प्रचण्ड एण्ड कम्पनी हो । यसले कुनै पार्टीको रुपनै लिएको छैन । र, काँग्रेस प्रचण्ड एण्ड कम्पनीको पछिपछि त्यही नीतिमा लुरुलुरु हिँडी राखेको छ । त्यही व्यवहार र आचरणमा ।’

अध्यक्ष ओलीले सत्तारुढ गठबन्धनले मुलुकलाई बर्बाद पार्ने भएकाले आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउनुपर्ने बताए ।