बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

प्रतिस्पर्धीको बदनाम गराउन डीआईजी चन्दको प्रायोजन

मंगलबार, माघ १८ २०७३

काठमाडौं, माघ १७ । नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याल ३० वर्षे सेवा अवधिका कारण आगामी फागुन २ गतेदेखि सेवा निवृत्त हुँदै छन् । अर्यालसँगै २०४३ फागुन ३ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका  राजेन्द्रसिंह भण्डारी, सुरेन्द्रबहादुर शाह, विज्ञानराज शर्मा, प्रतापसिंह थापा, रमेशशेखर बज्राचार्य, वीरेन्द्रबाबु श्रेष्ठ, केदारप्रकाश साउद, यादव अधिकारी, विश्वराजसिंह शाही, सुशीलवरसिंह थापा र परशुराम खत्रीसहितका ११ एआईजीहरु र डीआईजी श्यामबहादुर खड्का फागुन २ देखि ३० वर्षे सेवा अवधिको प्रावधानअनुसार अनिवार्य अवकाश पाउँदै छन् । 

हालका महानिरीक्षक अर्यालका सम्पूर्ण ब्याजीहरुको अवकाशपछि २०४४ साल चैत २९ मा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका हालका डीआईजीहरु मध्येबाट एक जना नेपाल प्रहरीको २५औं महानिरीक्षक बन्नेछन् । अर्यालको अवकाशको मिति नजिकिँदै गर्दा भावी महानिरीक्षकको दौडमा रहेका डीआईजीहरुबीच चलिरहेको अस्वस्थ प्रतिस्पर्धाले सिंगो प्रहरी संगठनकै बदनाम हुन पुगेको छ । 

भावी महानिरीक्षकको उम्मेदवार रहेका डीआईजी नवराज सिलवाल वरीयताको एक नम्बरमा छन् भने दुई नम्बरमा प्रकाश अर्याल, तीन नम्बरमा जयबहादुर चन्द र वरीयताको चार नम्बरमा बमबहादुर भण्डारी  रहेका छन् । सरकारले लागि चार जनामध्ये व्यावसायिक प्रहरी अधिकृतको छवि बनाएका डीआईजी नवराज सिलवाललाई महानिरीक्षक नियुक्ति गर्ने तयारीका साथ प्रक्रिया अगाडि बढाएपछि तेस्रो वरीयतामा रहेका तथा आर्थिक रुपमा बदनामी कमाएका डीआईजी जयबहादुर चन्द तल्लोस्तरमा गिरेर आफ्ना प्रतिस्पर्धी सिलवालविरुद्ध षड्यन्त्रका तानाबाना बुन्ने असफल प्रयास गरिरहेका छन् । 

विवादास्पद पृष्ठभूमिका चन्दले भावी महानिरीक्षकको पद हत्याउन यतिसम्मको तल्लो स्तरको हर्कत गरिरहेका छन् कि डीआईजी जस्तो उपल्लो ओहदामा पुगेको व्यक्तिले यस्तोसम्म गर्लान् भनेर कल्पनासमेत गर्न सकिन्न । चन्दनिकट स्रोतका अनुसार बैंकिङ कसुर मुद्दामा हाल भीमफेदी कारागारमा मुद्दा पुर्पक्षका लागि थुनामा रहेका शम्भु भन्ने गुणबहादुर थापालाई डीआईजी सिलवालले फसाएको भन्दै थापाकी श्रीमती र छोरालाई बोलाएर काठमाडौंको कान्तिपथस्थित होटेल माउन्टेनमा सोमबार अपराह्न डीआईजी सिलवालविरुद्ध पत्रकार सम्मेलनको आयोजना गर्न लगाएको खुलेको छ । भावी महानिरीक्षकको रुपमा हेरिएका डीआईजी सिलवाललाई बदनाम गराएर आफूले पद हत्याउने दुष्कर्ममा लागेका डीआईजी चन्दले आफ्ना सहयोगी परिचालन गरेर पत्रकार सम्मेलनको चाजोपाँजो मिलाउनेदेखि लागूऔषध नियन्त्रण ब्युरोमा कार्यरत केही प्रहरीलाई सादा पोशाकमा परिचालन गरेर सुरक्षा प्रबन्ध मिलाएको स्रोतको दाबी छ । ब्युरो स्रोतका अनुसार उक्त पत्रकार सम्मेलनको सुरक्षार्थ ब्युरोका इन्स्पेक्टर अनिल ठकुरी, सई निरञ्जन केसी र प्रहरी जवान रमेश जोशीलगायत प्रहरी कर्मचारीहरु खटिएका थिए भने सम्पूर्णलाई परिचालन गर्ने काम ब्युरोका डीएसपी अपिलराज बोहोराले गरेका थिए । 

सोमबार अपराह्न माउन्टेन होटेलमा केन्द्रीय अनुसन्धान ब्युरोका निर्देशक नवराज सिलवालको बदनाम गराउने उद्देश्यले पत्रकार सम्मेलनको आयोजना गरिँदै छ भन्ने खबर काठमाडौं प्रहरी प्रमुख एसएसपी छविलाल जोशी, महानगरीय प्रहरी कार्यालयका प्रमुख एआईजी प्रतापसिंह थापादेखि प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसम्म पुगेको थियो । उक्त खबर एकाएक भाइरल भएपछि डीएसपी बोहोराले सुरक्षार्थ खटिएका सादा पोशाकका प्रहरीहरुलाई होटेल परिसरबाट भाग्न निर्देशन दिएका थिए । स्रोतका अनुसार डीएसपी बोहोराको निर्देशनपछि ब्युरोका सबै प्रहरीहरु त्यहाँबाट कुलेलम ठोकेका थिए । 

चन्द निकट स्रोतका अनुसार सोमबारको लागि तय गरिएको उक्त पत्रकार सम्मेलनको लागि सभा हल बुकिङ र खानपिनको व्यवस्थापन दरबारमार्गमा अवस्थित  ‘भिक्ट्री’ नामक डिस्कोका सञ्चालक राम गिरीले गरिदिएका थिए । माउन्टेन होटेल सम्बद्ध विश्वस्त स्रोतका अनुसार गिरीले भिक्ट्री डिस्कोका म्यानेजरलाई सभा हल बुकिङका लागि सोमबार बिहानै माउन्टेन होटेल पठाएका थिए । ‘मलाई राम गिरी दाइले पठाउनु भएको हो, हल भाडा र खानपिनको सबै बिल भिक्ट्रीको नाममा राखिदिनू,’ ती म्यानेजरलाई उद्धृत गर्दै स्रोतले भन्यो । 

विवादास्पद पृष्ठभूमिका गिरी डीआईजी चन्दनिकट मानिन्छन् । प्रहरीका केही अधिकारीहरुको अवैध पैसा ब्याजमा लिई रेस्टुरेन्टमा लगानी गरेर रातारात करोडपति भएका गिरी डीआईजी चन्दका व्यावसायिक साझेदारसमेत हुन् । विश्वस्त स्रोतका अनुसार गिरीको भिक्ट्री डिस्कोमा केही प्रतिशत चन्दको समेत लगानी छ । नेपाल प्रहरीका पूर्व एसएसपी ढकबहादुर कार्कीको संरक्षणमा वर्षौंदेखि अवैध धन्दा सञ्चालन गर्दै आएका गिरीले डीआईजी चन्दलाई महानिरीक्षक बनाउन ५/७ करोडसम्म आफूले समेत लगानी गर्न तयार रहेको गफ दिँदै हिँड्ने गरेको गिरीनिकट स्रोत बताउँछ । 

गुणबहादुर र सिलवालबीचको विवाद के हो ?   

२०६८ सालको मङ्सिर अन्तिम सातातिर नेपाल प्रहरीमा रिक्त पाँच डीआईजी पदमा बढुवाका लागि प्रहरी मुख्यालय र गृह मन्त्रालयले प्रक्रिया के अगाडि बढाएको थियो, बढुवाको लाइनमा रहेका तत्कालीन एसएसपी  नवराज सिलवालले मिटरब्याजमा पैसा लगानी गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्र, गृह मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत विभिन्न निकायमा उजुरी परेको भन्दै केही पत्रपत्रिकामा समाचार प्रकाशित भए । प्रतिस्पर्धामा रहेका तत्कालीन एसएसपी जयबहादुर चन्दले आफ्नो ब्याचबाट पहिलो नम्बरमा रहेका सिलवाललाई पछाडि पारेर आफूलाई एक नम्बरमा डीआईजी बनाइदिन करोडौंको अफर लिएर तिनै पत्रपत्रिकाका कटिंगसहित तत्कालिन गृहमन्त्री विजयकुमार गच्छदारको शरणमा पुगे । चन्दको अफरपछि गच्छदारले चन्दलाई एक नम्बरमा डीआईजी बनाउन भरमग्दुर प्रयास गरे तर तत्कालीन महानिरीक्षक कुबेरसिंह राना र तत्कालीन गृहसचिव नवीनकुमार घिमिरेले वरीयता मिच्न नहुने भन्दै सिलवाललाई नै आफ्नो ब्याचबाट पहिलो नम्बरमा बढुवा गर्ने अडान लिए । जतिसक्दो प्रयास गर्दा पनि दुवैले अडान नछाडेपछि सचिव र आईजीपीको अगाडि गृहमन्त्री गच्छदार गले । २०६९ पुस ४ गते बढुवा सूची प्रकाशित भयो । २०४४ सालको ब्याचबाट एक नम्बरमा नवराज सिलवाल, दुई नम्बरमा प्रकाश अर्याल, तेस्रो नम्बरमा जयबहादुर चन्द र चौंथो नम्बरमा बमबहादुर भण्डारी बढुवामा परे ।   

एक नम्बरमा बढुवामा पर्ने इच्छा पूरा नभएपछि डीआईजी चन्दले आफ्ना प्रतिस्पर्धी सिलवालविरुद्ध अनेक षड्यन्त्र गर्न थाले । बढुवाको मुखैमा सिलवालविरुद्ध विभिन्न निकायमा उजुरी दिएका गुणबहादुर थापालाई उचालेर पटकपटक उजुरी हाल्न लगाए । सिलवालविरुद्ध पटकपटक उजुरी परेपछि गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई २०७१ कात्तिक २५ गते उक्त विषयमा छानबिन गरेर तुरुन्त प्रतिवेदन पेश गर्न निर्देशन दियो ।

गृह मन्त्रालयको निर्देशनपछि प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले छानबिन समिति गठन गरे । छानबिन समितिले एक हप्ता लगाएर गरेको अनुसन्धानबाट डीआईजी सिलवाल निर्दोष देखिए । 

 

 हेर्नुस् प्रहरी प्रधान कार्यालयले गृह मन्त्रालयको प्रहरी प्रशासन शाखालाई सम्बोधन गरी मिति २०७१ मङ्सिर १२ मा लेखेको पत्र 

 

अर्को पत्र पनि हेर्नुस् प्रहरी प्रधान कार्यालयले उपप्रधान तथा गृहमन्त्रीको निजी सचिवालयलाई सम्बोधन गरी मिति २०७१ मङ्सिर ४ मा लेखेको पत्र 

प्रहरी मुख्यालयको छानबिनबाट डीआईजी सिलवाल निर्दोष त देखिए तर उनका समकक्षी र प्रतिस्पर्धीहरुका अनेक षड्यन्त्रको शिकार अहिलेसम्म हुँदै आएका छन् । डीआईजी चन्दले गुणबहादुर थापालाई प्रयोग गरेर डीआईजी सिलवालविरुद्ध अभियान चलाउनका लागि केही सञ्चारकर्मीहरुलाई समाचार लेख्न अनुरोध गरेको अडियो क्लिप तिन घुम्ती सँग सुरक्षित छ ।