काठमाडौं । आगामी निर्वाचनमा सिट बाँडफाँडको खाका बनाउन सत्तारुढ गठबन्धनले तयार पारेको कार्यदलको बैठक आज बस्दैछ।
बैठक दिउँसो २ बजे बालुवाटारमा बस्ने गरी बोलाइएको कार्यदलका सदस्य एवम् राष्ट्रिय जनमोर्चाका नेता हिमलाल पुरीले जानकारी दिए।
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धन दलबीच तालमेलको खाका बनाउन सत्तारुढ पाँच दलले ११ सदस्यीय कार्यदल गठन गरेका छन्।
यसअघि २३ श्रावणमा बसेको कार्यदलको पहिलो बैठकले कृष्णप्रसाद सिटौलालाई कार्यदलको संयोजक तोकेको थियो । उक्त बैठकले गठबन्धनको सिट बाँडफाँटका विषयमा छलफल गरेको र चुनाव पछि पनि गठबन्धनलाई कसरी लिएर जाने भन्ने विषयमा छलफल भएको बताइएको थियो ।
साउन मसान्तभित्र सिट बाँडफाँटको मोडालिटीसहित सुझाव दिनेगरी गठबन्धनले कार्यदल बनाएको थियो ।
अहिले प्रतिनिधि सभामा प्रत्यक्ष तर्फ १६५ र प्रदेश सभामा ३३० निर्वाचन क्षेत्रको सिटमा बाँडफाँटका लागि कार्यदलले मापदण्ड र मोडालिटी बनाउने कार्यभार पाएको छ । काँग्रेसका केही नेताहरुले १०० सिट पाउनु पर्ने दाबी गरिरहेका छन् । यस्तै, अन्य दलहरुले भने ८० देखि ८५ सम्म सिट दाबी गरेका छन् ।
कार्यदलमा नेपाली काँग्रेसबाट महामन्त्री गगन थापा, नेता कृष्णप्रसाद सिटौला, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की छन् ।
यस्तै माओवादी केन्द्रबाट वर्षमान पुन, अर्थमन्त्री जनार्दन शर्मा, नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् ।
र