काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिको प्रतिवेदन मान्न नसकिने बताएका छन् ।
समितिको सो प्रतिवेदन सत्य नभएको र तथ्यमा आधारित पनि नरहेकाले त्यसलाई मान्न नसकिने पूर्वप्रधानमन्त्री समेत रहेका ओलीको भनाइ छ । राष्ट्रिय युवा संघ, नेपालले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सत्तारुढ गठबन्धनकै बहुमतले तयार पारेर ल्याइएको सो प्रतिवेदनलाई नेपाली जनताले पनि अस्वीकार गर्नुपर्ने तर्क गरे ।
अध्यक्ष ओलीले आफ्नो पार्टीलाई सो प्रतिवेदन मान्य नहुने र जे सत्य हो, त्यसैमा अडिएर अघि बढने आफ्नो पार्टीको अडान रहेको समेत स्पष्ट पारे । समितिमा ११ जनामध्ये ७ जना आफ्नो राख्ने र अनि हुन्छ र हुन्न भनेको आधारमा सो प्रतिवेदन आएको भन्दै उनले आक्रोश समेत व्यक्त गरे ।
अध्यक्ष ओलीले सत्तारुढ दलहरुले देशलाई बर्बादीको दिशातिर धकेलेको उल्लेख गर्दै त्यसलाई जोगाउन पनि आगामी निर्वाचनमा एमालेले शान्दार बहुमत ल्याएर सरकार बनाउनुपर्ने जिकीर समेत गरे । देशलाई बचाउन, जोगाउन र अघि बढाउन एमालेले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा शान्दार बहुमत ल्याएर सरकार बनाउनुपर्ने अवस्था आएको भन्दै उनले त्यसका लागि खट्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए ।
ओलीले एमाले सरकारमा नपुगी मुलुक अघि बढन नसक्ने पटकपटक दोहो¥याए । त्यस अवसरमा उनले जथाभावी न्याय निरुपण नगर्न अदालतलाई पनि सचेत गराएका थिए ।