अन्य बाणिज्य बैंकको चुक्ता पुंजी २२ अर्ब पुगिसक्दा चार्टडको नौं अर्ब मात्र
निक्षेप पनि एक खर्बबाट घटेर ९३ अर्बमा खुम्चियो, खराव कर्जा निरन्तर बढ्दै
काठमाडौं – बहुराष्ट्रिय कम्पनीद्धारा प्रर्वद्धित स्टान्डर्ड चार्टड बैंक नेपालमा भने निकैं नैं कमजोर बन्दै गएको छ । स्वदेशी पुंजी र स्वदेशी लगानीमा नैं सञ्चालनमा रहेका अन्य बाणिज्य बैंकहरुले न्युनतम चुक्ता पुंजी २२ अर्ब रुपैंयाँ कायम गरिसक्दा स्टान्डर्ड चार्टडको चुक्ता पुंजी नौं अर्ब रुपैंयाँ मात्र रहेको छ । यसैगरी अन्य बैंकहरुको निक्षेप तथा कर्जा रकम एक खर्ब रुपैंयाँ भन्दा माथि पुगिसक्दा स्टान्डर्ड चार्टडको निक्षेप तथा कर्जा एक खर्ब भन्दा तल रहेको छ ।
मुलुकको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले अन्य बाणिज्य बैंकहरुलाई न्युनतम चुक्ता पुंजी बृद्धि गर्न, मर्जर तथा प्राप्ती प्रकृयामा जान नीतिगतरुपमा दवाव दिएपनि स्टान्डर्ड चार्टडको अगाडि नेपाल राष्ट्र बैंक निरीह बनेको छ । बहुराष्ट्रिय कम्पनीद्धारा प्रर्वधित भएकै कारण हुन सक्छ, राष्ट्र बैंकले अहिलेसम्म पनि स्टान्डर्ड चार्टडलाई कुनै पनि किसिमको कारवाही गर्ने आँट गर्न सकेको छैन । यो अवस्थामा स्टान्डर्ड चार्टड न आफैले चुक्ता पुंजी बृद्धि गर्छ न राष्ट्र बैंकले पुंजीको लागि मर्जर वा प्राप्तीमा जान निर्देशन दिन नैं सक्छ । स्टान्डर्ड चार्टडको हकमा नेपाल राष्ट्र बैंक, त्यसमा पनि भनौं गर्भनर महाप्रसाद अधिककारी रमिते र निरीह जस्तै भएका छन् ।
स्टान्डर्ड चार्टड बैंक कमजोर हुनुको प्रमाण, बित्तीय विवरण
स्टान्डर्ड चार्टडको बित्तीय अवस्था (रकम रु हजारमा, निष्क्रिय कर्जा प्रतिशतमा)
स्टान्डर्ड चार्टडको बित्तीय अवस्था (रकम रु हजारमा, निष्क्रिय कर्जा प्रतिशतमा)
बिवरण चुुक्ता पुंजी निक्षेप कर्जा खुद मुनाफा निष्क्रिय कर्जा
पहिलो त्रैमास ८५७२२३१ ८५४५७५३१ ६८९९८२२३ ४८१८४७ ०.६७
दोस्रो त्रैमास ९४२९४५४ ८६२८८२८३ ७६१०४६६९ १०८६७७० ०.४४
तेस्रो त्रैमास ९४२९४५४ १००४८२९०५ ७८५८५९६१ १६२८७७४ ०.३६
चौंथो त्रैमास ९४२९४५४ ९३७२१९१६ ७९१७३९९१ २२६९८५५ ०.५९
(श्रोत सम्वन्धीत बैंकले बिभिन्न समयमा सार्वजनिक गरेको अपरिष्कृत वित्तीय बिवरणहरु)
नेपालमा स्टान्डर्ड चार्टड बैंक कसरी कमजोर भईरहेको छ त यसको प्रमाण बैंक स्वंमले बिभिन्न समयमा प्रकाशन गरेको अपरिष्कृत वित्तीय विवरणहरुबाट पुष्टि हुन्छ । आर्थिक बर्ष २०७८–०७९ को पहिलो त्रैमासमा बैंकको चुक्ता पुंजी आठ अर्ब ५७ करोड २२ लाख ३१ हजार रुपैंयाँ रहेको थियो । उक्त अवधिमा बैंकले ८५ अर्ब ४५ करोड ७५ लाख ३१ हजार रुपैंयाँ निक्षेप संकलन गरी ६८ अर्ब ९९ करोडको हाराहारीमा कर्जा दिएको देखिएको छ । उक्त अवधिमा बैंकले ४८ करोड १८ लाख ४७ हजार रुपैंयाँ खुद मुनाफा कमाएको देखिएको छ भने निष्क्रिय कर्जाको अनुपात शुन्य दशमलव ६७ प्रतिशत देखिएको छ । सो पश्चात दोस्रो त्रैमासमा भने बैंकको चुक्ता पुंजी केहीहदसम्म बढेपनि निक्षेप तथा कर्जा प्रवाह भने खासै बढेको देखिदैंन । दोस्रो त्रैमासमा नौं अर्ब ४२ करोड ९४ लाख ५४ हजार रुपैंयाँ चुक्ता पुंजी कायम गरेको बैंकले उक्त अवधिमा ८६ अर्ब २८ करोड ८३ लाख ८३ हजार रुपैंयाँ मात्र निक्षेप संकल गरी ७६ अर्ब १० करोड ४६ लाख ६९ हजार रुपैंयाँ कर्जा प्रवाह गरेको थियो । उक्त अवधिमा एक अर्ब आठ करोड ६७ लाख ७० हजार रुपैंयाँ खुद मुनाफा आम्दानी गरेको बैंकमा शुन्य दशमलव ४४ प्रतिशत कर्जा निष्क्रिय देखिएको थियो ।
तेस्रो त्रैमासमा भने स्टान्डर्ड चार्टडको चुक्ता पुंजी बढ्न सकेन । उक्त अवधिमा बैंकले निक्षेप रकम भने बढाएर एक खर्ब ४८ करोड २९ लाख पाँच हजार रुपैंयाँ पुर्याउन सफल भएपनि कर्जा रकम भने बढ्न सकेन् । उक्त अवधिमा बैंकले जम्मा ७८ अर्ब ५८ करोड ५९ लाख ६१ हजार रुपैंयाँ कर्जा प्रवाह गर्न सफल भयो । जसबाट बैंकले उक्त अवधिमा एक अर्ब ६२ करोड ८७ लाख ७५ हजार रुपैंयाँ खुद मुनाफा कमाउन सफल भयो भने निष्क्रिय कर्जा घटेर शुन्य दशमलव ३६ प्रतिशतमा झर्यो ।
आर्थिक बर्ष २०७८–०७९ कौं चौंथो अर्थात अन्तिम त्रैमासमा भने स्टान्डर्ड चार्टडको अवस्था निकै नै खस्किएको छ । बैंकको निक्षेप एक खर्ब रुपैंयाँबाट घटेर ९३ अर्ब ७२ करोड १९ लाख १६ हजार रुपैंयाँमा सिमित रहेको छ भने कर्जा रकम ७९ अर्ब १७ करोड ३९ लाख ९१ हजार रुपैंयाँ पुगेको छ । उक्त अवधिमा बैंकले दुई अर्ब २६ करोड ९८ लाख ५५ हजार रुपैंयाँ खुद मुनाफा कमाउन सफल भएको छ भने निष्क्रिय कर्जाको अनुपात शुन्य दशमलव ५९ प्रतिशत रहेको छ । बैंकमा निक्षेप घट्नुको प्रमुख कारण भने बैंकलाई ठुला संस्थागत निक्षेपकर्ताहरुले बिस्वास नगर्नु रहेको बुझिएको छ ।