बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

निर्वाचनप्रति प्रचण्डको वितृष्णा

सोमबार, साउन ९ २०७९

काठमाडौं । माओवादी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनमा दलाल पुँजीपतिहरु पैसा खर्च गरेर आइरहेको भन्दै संघर्ष गर्नुपर्ने बताएका छन् ।

सोमवार पार्टी कार्यालय पेरिस डाँडामा आयोजित स्वर्गीय नेता नरबहादुर कर्माचार्यको स्मृतिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै  उनले यस्तो बताएका हुन् ।

प्रचण्डले अबको निर्वाचनबाट दलाल पुँजीपति, नोकरशाह पुँजीपति र भ्रष्टहरु मात्रै चुनिने खतरा रहेको भन्दै राजनीतिक दलहरुमा यसको गम्भीर छलफल हुन आवश्यक रहेको पनि बताए ।

अहिले चुनावमा धेरै पैसा खर्च गर्न नसके र तिक्डम गर्न नजाने चुनाव जित्नै गाह्रो रहेको बताए । उनले स्थानीय तहको चुनावमा नै गाउँपालिका अध्यक्षको लागि १० करोड रुपैयाँ खर्च भएको जानकारी पाएको उल्लेख गर्दै संघ र प्रदेश चुनावमा सांसदको खर्च १ अर्ब माथि हुने बताए ।

प्रचण्डले अहिलेको निर्वाचन प्रणालीले देशलाई नराम्रो दिशातर्फ लैजाने बताए ।

अध्यक्ष प्रचण्डले देशको शासन प्रणाली पनि देश अनुकुल नभएको दाबी गरे । प्रचण्डले अहिले सांसद हुन करोडौं खर्च गर्न तयार हुने भनेको मन्त्री र प्रधानमन्त्री बन्नको लागि भएको बताए । उनले भ्रष्टाचार संस्थागत हुने कारण निर्वाचन प्रणाली र शासन प्रणालीभित्र अन्तरनिहीत रहेको उल्लेख गरे । अध्यक्ष प्रचण्डले यस बारेमा माओवादी पार्टीलाई मात्रै वैधानिक, राजनीतिक र नैतिक रुपले बोल्ने आधार रहेको दाबी गरे ।

देशमा परिवर्तन ल्याउने काम माओवादीले मात्रै गर्नसक्ने उनको दाबी थियो ।