काठमाडौं । आज संसदीय छानबिन समितिको बैठक बस्दैछ ।
बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश गराएको आरोप लागेका पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय छानबिन समितिको बैठक बस्न लागेकाे हाे ।
बैठकले कार्यविधि अनुसार अर्थमन्त्रालयबाट कागजात मगाउने, सीसीटीभी फुटेज मगाउने, बजेट निर्माणमा संलग्नसँग सोधपुछ गर्ने र स्थलगत अनुगमन गर्ने कार्यक्रम रहेको छ ।
तत्कालिन अर्थमन्त्री शर्माले आगामी आर्थिक वर्षको बजेट निर्माणमा अनधिकृत व्यक्तिहरु सामेल गराएर करको दर हेरफेर गरेको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले आरोप लगाएपछि शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।
सोही घटनाको सत्यतथ्य बाहिर ल्याउन सो संसदीय विशेष छानवीन समिति गठन गरिएको थियो । समितिमा एमालेबाट प्रदीप ज्ञवाली, खगराज अधिकारी, भानुभक्त ढकाल र विमला विश्वकर्मा छन् ।
त्यसैगरी काँग्रेसबाट पुष्पा भुसाल र सीताराम महतो, नेकपा (माओवादी केन्द्र) बाट देवप्रसाद गुरुङ र शक्तिबहादुर बस्नेत छन् भने नेकपा (एकीकृत समाजवादी) की सरलाकुमारी यादव, जनता समाजवादीबाट सुरेन्द्रकुमार यादव र लोकतान्त्रिक समाजवादी पार्टीबाट लक्ष्मणलाल कर्ण छन् ।