काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अमेरिकन सहयोग स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) लाई पत्र लेखेको बारेमा आफू जानकार नभएको बताएका छन् ।
भूकम्पको समयमा विपद् व्यस्थापनका लागि २० कात्तिक २०७२ मा एसपीपीलाई नेपाली सेनाले पत्र लेखेको प्रधानसेनापति प्रभुराम शर्माले बताएलगत्तै प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको शुक्रबार बिहानको बैठकमा तत्कालीन रक्षा मन्त्री पोखरेलले सो पत्र लेखिएको बारेमा त्यो बेला आफूलाई जानकार नभएको बताएका हुन् ।
‘निकै ठूलो समस्या हो कि भनेर उठाउन खोजिएको विषय (एसपीपी) निराकरण हुनेतिर गयो, यो खुसीको कुरा हो, खासमा यो कुरा एक हिसाबले क्लोज नै भयो,’ तर पोखरेलले बैठकमा प्रश्न गरे, ‘एसपीपीबारे सेनाले (त्यो बेला) सरकारलाई कहिले सोधनी भयो ? त्यसबेला मन्त्रालयबाट सकारात्मक रेस्पोन्स गर्ने आधिकारिक व्यक्ति को थियो ? सेनापतिले एसपीपीलाई पत्र लेख्दा भर्खर बनेको सरकार आधिकारिक हो कि पहिले सकारात्मक जवाफ सेनालाई पठाउने चाँही ? यसबारेमा बाहिर सत्य तथ्य ल्याउनुपर्छ ।’
केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा नेपाली सेनाले एसपीपीलाई पत्र पठाएको बेला पोखरेल उपप्रधान तथा रक्षामन्त्रीको जिम्मेवारीमा थिए । सो विषयमा आफूलाई बिबादमा तान्ने प्रयास भएकोतर्फ संकेत गर्दै त्यसको पृष्ठभूमिका बारेमा सत्यतथ्य बाहिर ल्याउनुपर्ने उनको भनाइ थियो ।
उपाध्यक्ष पोखरेलको पत्र पठाउने समय नहेरी त्यसको पृष्ठभूमिमा भएका छलफल र बहसलाई पनि सँगसँगै बाहिर ल्याउनु पर्नेमा पनि जोड थियो । ‘एसपीपी कसको पालामा अगाडि बढाइएको थियो भन्ने भन्दा सुरुको कुन अवस्थामा त्यो अघि बढाइयो, त्यसको यथार्थता बाहिर ल्याउनुपर्छ,’ उनको माग छ ।
‘नेपाल सरकार र रक्षा मन्त्रालयको स्वीकृतीमा चिठी पठाएको हो तर भुकम्पमा मानवीय सहयाताबाहेक अरु उदेश्य थिएन, हैन’ समिति बैठकमा प्रधान सेनापति शर्माले भनेका थिए ।
यसैगरी एमालेका नेता भीम रावलले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने भनेर अमेरिकालाई पत्र पठाउन सुझाव दिए ।
अमेरिकाले एसपीपी नेपालले नलिन पनि सक्छ भनिसकेको भन्दै रावलले परराष्ट्र मन्त्रीले पत्र पठाएर नलिने भन्नु पर्ने बताए ।