बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

घुमुवा राख्न डिआइजी उपाध्ययको दबाब

सोमबार, पुष ४ २०७३

काठमाडौं ।
 नेपाल प्रहरीको मध्यक्षेत्रीय प्रमुख डिआइजी पशुपति उपाध्यायलाई खुसी बनाएकै भरमा पर्सामा घुमुवा रहिरहन सफल सई सागर राणालाई पुनः पर्साको घुमुवा बनाउन उपाध्यायले दबाब दिएको खुलासा भएको छ । 
राजुबाबु श्रेष्ठ पर्सा प्रहरी प्रमुखबाट हटेपछि सरुवा भई गएका एसपी गोविन्द साहलाई डिआइजी उपाध्यायले सागर राणालाई पुनः घुमुवा राख्न व्यापक दबाब दिएको खुल्न आएको छ । श्रेष्ठको सरुवासँगै हेटौँडा डिआइजी कार्यालयमा लगिएका राणालाई उपाध्यायले पुनः पर्सामा पठाई घुमुवा राख्न एसपी साहलाई दबाब दिएका हुन् । डिआइजी उपाध्यायलाई मासिक नजराना चढाएकै भरमा टिकिरहन सफल सई राणा नयाँ एसपीको आगमनसँगै उनले निजलाई घुमुवा नराख्ने बुझेपछि डिआइजी उपाध्यायले नै हेटौँडा लगेका थिए ।
एसपी हाजिर भएसँगै राणालाई पुनः घुमुवा राख्न दिएको चौतर्फी दबाबलाई एसपी साहले अटेर गरेपछि डिआइजी उपाध्यायले अञ्चल प्रहरी कार्यालयमा लगेर भए पनि राणालाई घुमुवा राख्ने योजना बनाइसकेको प्रहरीस्रोत नै बताउँछ । जागिर खाएदेखि नै झण्डै ८० प्रतिशत अवधि वीरगञ्जमा बिताएका र वीरगञ्जको राधेमाई टोलमा स्थायी घर भएका सई सागर राणा नेपाल प्रहरीमा घुस्याहा र बदनामका रूपमा चिनिन्छन् ।
 प्रहरी संगठनले घरपायक सरुवा नगर्ने, कार्यरत नराख्ने नीतिगत निर्णय गरे पनि त्यो सई सागर राणाको हकमा लागू हुँदैन । यसअघिका राजुबाबु श्रेष्ठले पनि यिनै राणालाई प्रयोग गरेर पर्साबाट करोडौँ रूपैयाँ लगे । यसअघिका एसपीहरूले पनि उनैलाई प्रयोग गरे । एसपीदेखि डिआइजीसम्मलाई मिलाएर तस्करहरूबाट सेटिङ मिलाउँदै तस्करी गराउँदै रकम असुल्ने सई सागर राणाको दरबन्दी ओखलढुंगा जिल्ला प्रहरी कार्यालय हो । तर उनलाई ओखलढुंगा कहिले पनि जानु परेन । यसअघि पनि अन्यत्र दरबन्दी भए पनि उनलाई खटिनु परेन । त्यसो त राणा स्वयम् नै एक व्यापारीसमेत हुन् । ट्रान्सपोर्टमा उनले साझेदारी व्यापार पनि गरिरहेका छन् । राणाको असुलीधन्दा र हेटौँडा एवम् पर्सामा जाने डिआइजी र एसपीले सई सागरलाई प्रयोग गरेर करोडौँ रूपैयाँ असुल्ने गरेको र हाकिमलाई उठाउने नाममा सई सागर राणाले समेत अकुत सम्पत्ति कमाएको जानकारी हालका प्रहरी प्रमुख उपेन्द्रकान्त अर्यालदेखि यसअघिका प्रहरी प्रमुखहरूलाई पनि थाहा नभएको होइन । 
तर ती आइजिपीहरूले पनि पर्साका एसपी र हेटौँडाका क्षेत्रीय डिआइजीहरूबाट प्राप्त सहयोगका भरमा ती बदनाम सागर राणालाई वीरगञ्जमा नै राखिरहन मञ्जुरी दिए । संगठन र बर्दीको बदनामी भए पनि होस् रकम प्राप्त भए पुग्छ भन्ने सिद्धान्त सई राणालाई लामो समयदेखि वीरगञ्जमा घुमुवा बनाई राखेको घटनाले पुष्टि गर्दछ ।

तेलीको धन्दा
उमेश साह तेली भारतीय नागरिक हुन् । उनलाई नेपाल प्रहरीका सई सागर राणाको साझेदारका रूपमा समेत वीरगञ्जका व्यापारीहरूले चिन्दछन् । पर्सामा घुमुवा बसेका सागर राणालाई सेटिङ नमिलाएसम्म कुनै पनि व्यापारीले सहजरूपमा काम गर्न नपाउने र तस्करहरूले तस्करी गर्न नपाउने अवस्था सिर्जना हुने भएपछि जोकोही तस्कर होस् या व्यापारी राणासँग हात मिलाउन जानैपर्ने अवस्था थियो । 
चाहे त्यो साझेदारीका रूपमा होस् या मासिक रकम दिने रूपमा नै किन नहोस् । त्यसैक्रममा सई राणासँग जोडिएको नाम हो– उमेश साह तेली । भारतीय नागरिक भए पनि २०६२ सालमा जिल्ला प्रशासन कार्यालय पर्साबाट नेपाली नागरिकता लिएका उमेश हाल वीरगञ्ज उपमहानगरपालिकाको १९ नम्बर वडामा स्थायीरूपमा बसोबास गर्दछन् । उनीविरुद्ध भारतमा अनेकन मुद्दा भएका कारण पनि उनी भारत जान नसक्ने र नजाने गरेको वीरगञ्जका व्यापारीहरूको भनाइ छ । वीरगञ्जका एसपीलाई मासिक रकम दिएर नजिक बनाएका यी तस्कर उमेश साह तेलीले कुनै बेला आफूलाई अपहरणको धम्की आएको बहानामा प्रहरीको सिभिलमा गार्डसमेत लिएर हिँड्ने गर्दथे भने नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैका डिआइजीसम्मलाई तस्करीमा सहयोग गरेवापतको नजराना चढाएर प्रहरीबाट नै लाइन मिलाएर उनले ठूलो मात्रामा खाद्यान्नको तस्करी गर्दै आइरहेका छन् ।
एकातर्फ तेलीको पार्टनर भनिएका सागर राणा हेटौँडामा जानु र अर्कोतर्फ पर्साको प्रहरी प्रमुखमा श्रेष्ठको सरुवासँगै आएका साहसँग सेटिङ नभइसकेको अवस्थामा र काम देखाउनका लागि पनि एसपी गोविन्द साहले ठूलो मात्रामा तेलीले तस्करी गरी ल्याएको दाल पक्राउ गर्न सफल भएका छन् । एसपी स्वयम् नै खटिएर ठूलो मात्रामा दाल पक्राउ गरेको उनले जानकारी दिएका छन् । पर्साको जानकीटोलाबाट प्रहरीले सोमवार लाखौँ मूल्य पर्ने तस्करीको दाल नियन्त्रणमा लिएको छ । प्रहरी उपरीक्षक गोविन्दकुमार साहको नेतृत्वमा गएको प्रहरी टोलीले भारतबाट भित्र्याउदै गरेको ६ ट्याक्टर दाल नियन्त्रणमा लिएको हो । 

भारतीय नम्बर प्लेटका ट्याक्टरमा तस्करीको दाल भित्रिन लागेको पूर्वसूचनाको आधारमा कारवाही गर्दा एक हजार चार सय बोरा दाल, ट्याक्टर र चालकसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । पूर्वसूचनाको आधारमा जानकीटोला गाविसको वडा नम्बर ९ हनुमान मन्दिर नजिकैको सडकमा बिहान ३ बजे भारतबाट आउँदै गरेको बि आर २२ जी ६८३२, बि आर २२ एफ ७१११, बि आर २२ जी ८३१९, बि आर २२ जी ८८६५, बि आर २२ जी ४३६३ र नम्बर प्लेट नै नभएको एक गरी जम्मा ६ वटा ट्याक्टरलाई रोकी आवश्यक कागजपत्र माग गर्दा प्रहरीलाई ढुवानीकर्ताले कागजात उपलब्ध गराउन नसकेपछि सबै ट्याक्टरलाई चालकसहित नियन्त्रणमा लिइएको प्रवक्ता जोशीले बताए । 
प्रहरीले बरामद गरेको ट्याक्टरबाट रहर, मुग, मास(कालो दाल), मुसुरोलगायतका चार हजार २ सय किलो दाल बरामद भएको प्रवक्ता जोशीले बताए । बरामद गरिएको दाल र ट्याक्टरको मूल्य ९१ लाख रूपैयाँभन्दा बढी रहेको प्रहरीले जनाएको छ । प्रहरीले तस्करीको दालसँगै ६ जना ट्याक्टर चालकहरू समेत नियन्त्रणमा लिएको छ । जानकीटोलाबाट बरामद गरेको दाल वीरगञ्जको गहवा निवासी प्रख्यात दाल तस्कर उमेश साह तेलीको रहेको प्रहरी श्रोतले जानकारी दिएको छ । 
जानकीटोला प्रहरी चौकीका इन्चार्जलाई मासिक पाँच लाख रूपैयाँ महिनावारी दिने सर्तमा अग्रीम भुक्तानी गरी तेलीले दश दिन अगाडीमात्र दाल तस्करीको लाइन सुरु गरेको श्रोतले बताएको छ । स्रोतले दिएको जानकारी अनुसार भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले जानकीटोलालाई नेपालका लागि दाल तस्करी गर्ने सहमति दिएपछि उमेशले जानकीटोलाका इन्चार्ज प्रहरी सहायक निरीक्षक(असई) शंकर रावल क्षेत्रीलाई पाँच लाख रूपैयाँ महिनावारी एडभान्स बुझाई लाइन सुरु गरेका हुन् । 

उमेश साहले पर्साको ग्रामीण भेगबाट लामो समयदेखि मकैको ट्याक्टर मुनी सुपारी हाली भारततर्फ तस्करी गर्दै आएको श्रोतले बताएको छ । बाराको मटिअर्वाबाट अञ्चल प्रहरी कार्यालय नारायणीका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक नारायण सिंह खड्काले केहि महिना अगाडी ठूलो परिमाणमा सुपारी बरामद गर्दै मटिअर्वा प्रहरी चौकीका इन्चार्जलाई कारवाही गरेपछि उमेश साह तेलीले बारा छाडी पर्साको जानकीटोला र भिस्वा नाकाबाट मकै मुनी सुपारी हाली भारततर्फ तस्करी गर्दै आएका छन् । प्रहरीले नियन्त्रणमा लिएको तस्करीको दाल छुटाउन उमेशकै भनाइमा सत्तामा रहेको दलका एक जना केन्द्रीय नेतालाई जिल्ला प्रशासन कार्यालयमार्फत् छुटाउन प्रयास गरे पनि उमेशको प्रयास असफल भएको छ ।