काठमाडौं । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा नयाँ प्रबिधिको पानी तान्ने पम्पको सफल परीक्षणपछि कृषकहरु उत्साहित भएका छन् ।
जिल्ला कृषि बिकास कार्यालय रामेछापले जिल्लामा सिँचाईको लागि पानी तान्ने बर्षा पम्म भित्र्याएसँगै उनीहरु उत्साहित भएका हुन ।
बिना इन्धन पानीको बहाबले पम्प घुम्दा २० मिटर भर्टिकल हाइटमा यो प्रविधिबाट पानी पम्प गर्न सकिन्छ । यदि सतह सिधा हुने हो भने अझै बढी दूरीमा पनि पानी पम्प हुन सक्छ । २४ सै घण्टा पानी फाल्ने यस प्रबिधिले कृषकहरुको आय आर्जनमा बृद्धि हुने बिश्वास लिइएको जिल्ला कृषि बिकास कार्यालयका बरिष्ठ कृषि बिकास अधिकृत राजेन्द्र मल्लले बताए ।
नदीमा बगेको पानीमा स्वचालीत डायनामो जस्तो पम्प राखि पानीको वहाबले डायनामो घुमाएर पानी फाल्ने यो प्रविधि नमुनाको रुपमा मन्थलीका एक तरकारी कृषकको फार्ममा जोडिएको छ ।
नेपालबाट पढ्न गएका इञ्जिनियरहरुले नेदरल्याण्डमा विकास गरेको सो पम्पले २० मिटर भर्टिकल हाइटसम्म पानी फाल्न सक्ने बताइएको छ । जेनेरेटर वा विद्युतिय पम्पम्बाट पानी तान्दा त्यसको लागत महंगो पर्न गइ कृषि जन्य वस्तुको उत्पादन लागत बढी हुने गर्दछ । यो प्रविधिमा इन्धन नलाग्ने भएकोले नेपाली किसानका लागि उपयोगी हुन सक्ने विश्वास लिइएको छ ।
यो प्रविधि जडान गरिएपछि तरकारी उत्पादनमा लागत घट्ने कृषक युवराज श्रेष्ठ बताउँछन् । उनले मन्थलीको आकासेमा अहिले ५२ रोपनी जग्गामा तरकारी खेती लगाएका छन् ।
सो खेतीका लागि उनले विद्युतीय पम्पबाट तामाकोसीको पानी तान्ने गरेका थिए । यसरी नदीको पानी तान्दा विद्युतको लागि मासिक ४ देखि ५ हजार रुपैयाँसम्म ख र्च हुने गरेको थियो । जसका कारण तरकारीमा पर्याप्त मुनाफा नहुने, तरकारीको मुल्य महंगो तोक्नु पर्ने हुन्थ्यो ।
कुल २ लाख ५० हजार रुपैयाँ पर्ने सो मेसिनले २४ घण्टामा २० हजार लिटर पानी फाल्ने परिक्षणका क्रममा देखिएको छ । । सिँचाई पोखरी निर्माण गरी पोखरीमा पानी जमाएर सुक्खा याममा सिँचाई गर्न पनि यस प्रबिधिबाट सकिने जनाइएको छ । बिना इन्धन पानी तान्ने यस्तो मेसिन पर्याप्त मात्रामा बितरण गर्न सके जिल्लामा कृषिजन्य वस्तुको उत्पादन वृद्धि हुने किसानहरु बताउँछन् ।