बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

जनता मूल्यवृद्धिको चर्को मारमा छन् सरकार भने अनुभूति गर्ने हृदय नभएझैं छ : कृष्णभक्त पोखरेल

शुक्रबार, जेष्ठ २० २०७९

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद कृष्णभक्त पोखरेलले सर्वसाधारण जनता मूल्यवृद्धिको चर्को मारमा पर्दा समेत कुनै अनुभूति गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल हटाउन सरकारसँग माग गर्दै एमालेले प्रस्तुत गरेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद पोखरेलले मूल्यवृद्धिले सर्वसाधारणको जीवन धान्नै नसक्ने अवस्थामा पुग्दा पनि सरकार हेर्ने आँखा, सुन्ने कान र अनुभूति गर्ने हृदय नभएझैं सरकारले गरिरहेको बताए ।

उनले सबै बस्तुहरुको मूल्य चर्को हुँदा पनि सरकारले सात प्रतिशत मात्रै मूल्यवृद्धि भएको भनेर ढाँटने कुरा गरिरहेको आरोप लगाए ।  सबै मूल्यवृद्धिको मुख्य कारण पेट्रोलियम पदार्थ भएको उल्लेख गर्दै सांसद पोखरेलले यसको व्यवस्थापन गर्न नसक्नु सरकारको कुशासन र भ्रष्टाचार नै भएको तर्क गरे । उनले आयल निगमलाई खारेज गरेर सरकारले ठूलो कमिशन लिएर निजी क्षेत्रलाई पेट्रोलियम पदार्थको जिम्मा लगाउने काम गर्न खोजिएको भन्दै आक्रोश समेत व्यक्त गरे । 
 
सांसद पोखरेलले नेपाल आयल निगमलाई सुशासन र पारदर्शी बनाई पेट्रोलियम पदार्थ सहज र सर्वसुलभ ढंगले आम उपभोक्तामा पुर्याउने काम तत्काल गर्न पनि सरकारलाई दबाव दिए ।