काठमाडौं । प्रभा एलुम्नाई एसोसिएसनको आयोजनामा शनिबार काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा प्रभा क्याम्पका पूर्वक्याम्पस प्रमुख चुडाप्रसाद चौलागाईद्वारा लिखित ‘जीवनका अन्तरङ्ग’ पुस्तकको विमोचन सम्पन्न भएको छ ।
शिक्षामन्त्री धनिराम पौडेलबाट उक्त पुस्तक विमोचन भएको हो । सो कार्यक्रममा विभिन्न क्षेत्रमा कार्यरत प्रभाका पूर्व ४ विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो ।
पूर्वविद्यार्थीहरूलाई एकै ठाउँमा उपस्थित गराई विभिन्न सामाजिक कामहरू गर्ने उद्देश्यले स्थापित प्रभा एलुम्नाई एशोसिएशनले पूर्व बिधार्थी विष्णुप्रसाद चौलागाई, नेपाल सरकारका कर्मचारी जिल्ला शिक्षा अधिकारी दिनानाथ गौतम, कात्तिके देउराली समाज दक्षिण कोरियाका अध्यक्ष दीपक चौलागाई र डा. नवराज गौतमलाई सम्मान गरेको हो ।
कार्यक्रममा प्रभा उच्च माविबाट २०७२ सालको एसएलसीमा उत्कृष्ट अंक ल्याई पास गर्नेहरू नारायण परियार, नवराज गौतम, सविता लामा, करुणा गौतम, सुरज परियार, शंकर डल्लाकोटी, सुनिल गौतम र अनिषा गिरीलाई पनि सम्मान गरिएको थियो भने रामप्यारी दर्लामीलाई रु. २३ हजारको छात्रवृत्ति चेक रकम हस्तान्तरण गरिएको थियो ।
प्रभा एलुम्नाई एशोसिएशनबाट पुस्तक विमोचन, सम्मान एवं छात्रवृत्ति वितरण कार्यक्रममा बोल्दै शिक्षामन्त्री धनीराम पौडेलले काभे्रको ग्रामीण क्षेत्रमा रहेको प्रभा उच्च माध्यमिक विद्यालय नमूना विद्यालय रहेको बताए । प्रभा उच्च माध्यमिक विद्यालयले उत्पादन गरेको जनशक्तिले राजनीतिक आन्दोलन, प्रशासनिक क्षेत्र, उद्योग, वाणिज्य, कूटनीति, डक्टर, इन्जिनियर, न्याय, समाजसेवा, शिक्षाविद्, पत्रकारितालगायतका विविध क्षेत्रमा स्थान ओगट्न सफल रहेकोमा धन्यवाद दिनुभएको थियो ।मन्त्री पौडेलले देशको कुना काप्चा लगायत ग्रामिण भेगमा रहेका हरेक बिधालयले प्रभा उच्च माध्यमिक विद्यालयबाट पाठ सिक्नु पर्ने कुरा औल्याइएका थियो । त्यही विद्यालयका पूर्व विद्यार्थीहरूले गठन गरेको प्रभा एलुम्नाई एशोसिएशनको कार्यक्रममा आफू सहभागी भई त्यहाँका पूर्व्विद्यार्थीहरूलाई सम्मान, त्यही विद्यालयका पूर्व शिक्षक एवं प्रभा क्याम्पसका पूर्व क्याम्पस प्रमुख चुडाप्रसाद चौलागाईले लेख्नुभएको ‘जीवनको अन्तरङ्ग’ पुस्तक विमोचन गर्न पाउँदा गौरवान्वित भएको बताएका थिए ।
देशको समसामयिक शिक्षाको बारेमा बोल्दै शिक्षामन्त्री धनीराम पौडेलले सरकार विद्यालय लिएर गाउँ जाने, अभिभावकहरू विद्यार्थी लिएर शहर पस्ने कार्यको अन्त्य हुनुपर्ने बताउनुभयो । प्रभा उच्च माध्यमिक विद्यालयले गरेका राम्रा कामहरूलाई आफ्नो सदैव सहयोग र साथ रहने पनि प्रतिबद्धता व्यक्त गरेका थिए ।
शिक्षामन्त्री पौडेलले क्याम्पसका पूर्वप्रमुख चुडाप्रसाद चौलागाईले लेख्नु भएको जीवनको अन्तरंग पुस्तकले नेपाली साहित्य आकासमा एक चम्किलो नक्षत्रका रुपमा रहने बताउनु भएको थियो । कार्यक्रममा ग्रामिण क्षेत्रको विद्यालय भएर पनि शिक्षा क्षेत्रको विकासका लागिव विद्यालयले ठूलो योगदान दिएको बताइयो । सो अवसरमा काभ्रेपोस्टका सम्पादक विष्णुप्रसाद चौलागाईलाई सम्मान पनि गरिएको थियो । प्रभा उच्च माविबाट एसएलसी पास गर्नुभएका चौलागाईले यस्तो सम्मानले आफूलाई पत्रकारीतामा लागि पर्न थप हौसला प्रदान गर्ने धारणा राख्नु भएको थियो ।