काठमाडौं, मंसिर २६
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’सँग नेपालका लागि कतारका नवनियुक्त राजदूत युसुफ मोहमद अहमद मोहमद अल हायलले शिष्टाचार भेट गर्नुभएको छ । आज (आईतबार) अपरान्ह उपराष्ट्रपतिको कार्यालय, बहादुरभवन कान्तिपथमा उपराष्ट्रपतिसँग कतारका राजदूतले शिष्टाचार भेट वार्ता गरेका हुन् ।
भेटमा उपराष्ट्रपतिले नेपाल र चीन घनिष्ठ मित्र राष्ट्र भएको बताउनुभयो । नेपाल र कतारको सम्बन्ध चार दशक पूरानो भएको बताउनुहुँदै उहाँले कतार नेपालको ठूलो श्रम गन्तव्य भएको उल्लेख गर्नुभयो । उपराष्ट्रपतिले नेपाली श्रमिकको हितमा नयाँ श्रम कानुन पारित गरेकोमा कतार सरकारलाई धन्यवाद दिए । उपराष्ट्रपतिले संविधान जारी भएपछि नेपालमा लगानीमैत्री वातावरण बनेको बताउनुहुँदै लगानीका लागि कतारलाई आग्रह गर्नुभयो । उहाँले कतारले छोटो समयमा हाँसिल गरेको समृद्धिबाट नेपालले सिक्न चाहेको बताउनु भयो । उहाँले नवनियुक्त कतारी राजदूतको कार्यकालमा नेपाल र कतारबीचको सम्बन्ध थप प्रगाढ बन्नेमा आफू विश्वस्त रहेको बताए ।
उपराष्ट्रपतिसँगको भेटमा कतारका राजदूतले नेपाल कतारको असल मित्र राष्ट्र भएको बताउनुभयो । उहाँले कतारलाई समृद्ध बनाउनमा नेपालीहरुको ठूलो भूमिका रहेको बताउनुभयो । राजदूतले कतारका प्रत्येक कारखानामा नेपाली कामदार रहेको उल्लेख गर्नुहुँदै नेपाली कामदारहरुका लागि सुविधा सम्पन्न आवास बनाईरहेको र नयाँ श्रम कानून लागु गरिएको बताए । राजदूतले कतार र नेपालको मानअधिकार आयोगबीच महत्वपूर्ण संझौता हुन लागेको बताए ।