भरतपुर । चुनाव नजिकिएसँगै अपराधिक घटना सुरु हुन थालेका छन् ।
आसन्न ३० बैशाखको स्थानीय तहको निर्वाचनलाई ध्यानमा राखि प्रहरीले सुरक्षा योजना अघि बढाइरहेका बेला भरतपुर महानगरपालिका– ७ कृष्णपुरमा धारिलो हतियार प्रहार गरी एक जनाको हत्या भएको छ ।
भरतपुर महानगरपालिका–७ कृष्णपुरको नगर प्लटिङमा आइतबार साँझ अज्ञात समूहको आक्रमणबाट भरतपुर–१२ मिलनचोक बस्ने अन्दाजी ३० वर्षीय अनिल परियारको मृत्यु भएको हो ।
घाइते परियारको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
स्रोतका अनुसार परियारकाे शरीरमा १० भन्दा बढी ठाउँमा छुरा हानिएको छ । परियार गत वर्ष मात्रै चितवन कारागारमा एक वर्ष कैद सजाय भोगेर रिहा भएका थिए ।
कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीले घटनाको विषयमा अनुसन्धान सुरु गरिएको बताए । घटनाको अनुसन्धानका लागि अधिकारीसहितको प्रहरी टोली चितवन मेडिकल कलेजमा पुगेको छ ।