काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राणा, राजा र कांग्रेसले आफ्नो शासनकालमा कहिल्यै देश विकासको योजना अघि नसारेको बताएका छन् ।
आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले एमालेको नेतृत्वमा मुलुकले विकास र समृद्धिको गती लिइरहेको बेला कांग्रेसले त्यसलाई रोक्न षड्यन्त्र गरेको आरोप लगाए ।
उनले भने, ‘अचम्म त के लाग्छ भने नेकपा एमालेले ल्याएका नीति, कार्यक्रम र आयोजनालाई कांग्रेस मजाक र गफ ठान्छ।’ एमालेले कांग्रेसको घेराबन्दी मात्र होइन नाकाबन्दी समेत सहनु परेको उनको भनाइ थियो । कांग्रेस फेरि नेपाल र नेपालीको विकासमा अवरोध बनेको बताउँदै उनले त्यसलाई पन्छ्याउन एमालेलाई विजयी बनाउनु पर्ने बताए ।
कांग्रेसलाई मतदान गर्ने धारणा बनाएकाहरुलाई अनुरोध गर्दै उनले एमालेलाई मतदान गरेर देश विकासको भिजन र कार्यक्रमलाई साथ दिन आव्हान समेत गरे ।
आगामी स्थानीय तहको निर्वाचनमा एमालेका उम्मेदवारलाई मत दिई विजयी गराउन अध्यक्ष ओलीले आव्हान गरे ।